१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाली शासक झुकेर एसपीपी सम्झौता गर्छन् कि भन्ने आशंका छ : महरा

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने आशंका व्यक्त गरेका छन् । 

नेपाली शासक झुकेर एसपीपी सम्झौता गर्छन् कि भन्ने आशंका छ : महरा

सोमबार काठमाडौंमा भएको ३१ औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरुले एसपीपी राष्ट्रहितविपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका गर्दै महराले आम नागरिक सचेत रहनुपर्ने बताएका हुन् ।

नेता महराले भित्रभित्रै सम्झौता गर्ने र ४/५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताए । उनले यो सम्झौताका लागि एमसीसीले ढोका खोलेको र एमसीसीसँग जोडिएको आईपीएसको अर्को रूपमा एसपीपीले नेपालमा स्थान पाएको उल्लेख गरे । नेता महराले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको समेत बताए ।

उनले भने, ‘एसपीपीको सन्दर्भमा केही समय त टरिसक्यो । सरकारले बोल्यो हामी गर्दैनौँ । प्रतिपक्षले बोल्यो यो राष्ट्रहितविरुद्ध छ । सबै पार्टीहरुले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरुले पनि भने । एसपीपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो । तर मलाई शंका छ । कतै नेपाली शासकहरु झुक्ने त होइनन् । फेरि झुकेर भित्रभित्र सम्झौता गर्ने होइनन् ? यही कुरा ४/५ महिनापछि अब सेलाएपछि सिद्धियो सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ । तर त्यो आशंका मेटियोस् । अहिले सबै पार्टी एसपीपीको विरुद्धमा छन् ।'

पूर्वसभामुखसमेत रहेका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरु तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताए ।

प्रकाशित : असार ६, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?