फोहोरको चुनौती सबै महानगरमा उस्तै

बढ्दो जनघनत्वसँगै बर्सेनि सहरी क्षेत्रबाट निस्कने फोहोरको परिमाण बढ्दो, व्यवस्थापनमा भने अझैसम्म छैनन् दीर्घकालीन योजना 

जेष्ठ २५, २०७९

विनोद भण्डारी, भूषण यादव, रमेशकुमार पौडेल, दीपक परियार

चितवन, विराटनगर, पोखरा‚ वीरगन्ज — संघीय राजधानी काठमाडौं महानगरमा बल्ल मंगलबारदेखि फोहोर उठ्न थालेको छ । उपत्यकाबाहिरका अन्य चार महानगरको व्यवस्थापन पनि दीर्घकालीनरूपमा योजनाबद्ध छैन । काठमाडौंको तुलनामा चितवनको भरतपुर, मोरङको विराटनगर, पर्साको वीरगन्ज र कास्कीको पोखरामा फोहोर सडक र घरमै थुप्रिँदैन । तर, उचित प्रयोग पनि छैन । 

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदीलाई पवित्र मानेर नित्य नुहाउने र पूजा गर्नेहरू पनि उत्तिकै छन् । तर, महानगरबाट दैनिक निस्कने फोहोर नारायणी किनार लगेर पुर्ने गरिएको छ । नारायणी पुलपारि गैंडाकोटबाट नदी किनारतर्फ दुई किलोमिटर पश्चिम पुगेपछि तटबन्ध जस्तो देखिन्छ । यो तटबन्ध नभएर महानगरको फोहोरको थुप्रो हो । बस्तीबाट निकै पर भएका कारण यहाँ फोहोर लगेर फाल्दा विरोध छैन । हिउँदसम्म फोहोर मिल्काउन पाइन्छ । तर, बर्खामा भेल बढेर ट्र्याक्टरले मझुवासम्म जाने बाटो पाउँदैनन् । अनि महानगरलाई फोहोर व्यवस्थापनको समस्या आइलाग्छ । 

महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन र सरसफाइ व्यवस्थापन शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले दैनिक ७५ टनभन्दा बढी फोहोर नदी किनारमा पुर्ने गरिएको बताए । भरतपुर–१ देखि ५ वडाको फोहोर वातावरण सुन्दर नेपाल प्रालि र ७ देखि १२ सम्मको सिटी वेस्ट म्यानेजमेन्ट कम्पनीले उठाउँछन् । बाँकी वडाको महानगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको छ । यसका लागि वर्षमा झन्डै तीन करोड खर्च हुने गरेको उनले जानकारी दिए । महानगरबाट संकलित फोहोर ट्रक र ट्रयाक्टरमा नदी किनारमा पुर्न लगिन्छ । कुहिने र नकुहिने फोहोर छुट्टै संकलन गर्ने, कुहिनेबाट मल बनाउने, पुनः प्रयोग गर्न मिल्ने (रिसाइकल गर्न सकिने) वस्तु छुट्याउने र उपयोग हुन नसक्ने मात्र व्यवस्थापन गर्न ल्यान्डफिल साइट बनाउने भनिएको लामो समय भयो । बनेको छैन ।

डेढ दशक अघिदेखि भरतपुरको फोहोर नदी किनारमा थुपार्न थालिएको हो । त्यसअघि जलदेवी सामुदायिक वनभित्र लगेर थुपार्ने गरिन्थ्यो । वनमा फोहोर फाल्न अदालतले रोकेपछि व्यवस्थित ल्यान्डफिल साइट बनाउन नेपाल सरकारले ०६८ मा तत्कालीन भरतपुर नगरपालिकालाई वनको १५ बिघा जग्गासमेत दिएको छ । वनले दिएको जग्गाको सट्टा भर्ना दिनका लागि भरतपुरले माडीमा १५ बिघा जग्गा किनेको पनि सात वर्ष नाघ्यो । तर जलदेवीमा ल्यान्डफिल साइट बनेको छैन । महानगरले फोहोर व्यवस्थापनको गुरुयोजना बनाउन कोरियाको सुडोकोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनसँग ०७५ भदौमा समझदारीसमेत गरेको थियो । १५ महिनाभित्र गुरुयोजना तयार हुने र त्यसपछि ल्यान्डफिल साइट निर्माणले गति लिने भनिएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो पहिलो कार्यकालमै ल्यान्डफिल साइट बनाएरै छाड्ने प्रतिबद्धता गरेकी थिइन् तर बनेन । 

उता पूर्वको सहर विराटनगरमा हरेक वर्ष डुबान, हिलो र धूलोको सास्ती भोग्दै आएका महानगरवासीले फोहोर र दुर्गन्धको त्यति ठूलो सकस भोग्नुपरेको छैन । महानगरले दैनिक झन्डै एक सय टन फोहोर संकलन गरेर अस्थायी रूपमा व्यवस्थापन गर्दै आएको छ । फोहोर उठाउन सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार ०७८ मंसिरमा नेपाल फूलबारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस, स्वास्थ्य र शान्तिका लागि वातावरण र आरएसडी सप्लायर्सलाई पाँच वर्षका लागि जिम्मा दिइएको छ । त्यसबापत महानगरले पाँच वर्षमा २ करोड ३३ लाख ३३ हजार २ सय ४० रुपैयाँ तिर्छ । तीनवटा संस्थाले दैनिक संकलन गरेको फोहोर वडा ६ स्थित केसलिया खोलाको बगरसँगै जोडिएको निजी जग्गा भाडामा लिएर डम्पिङ गर्दै आएका छन् । स्थानीयले विरोध गरे पनि महानगरले अटेर गर्दै आएको छ । दुर्गन्ध निर्मूलीकरण गर्दै आएको महानगरका वातावरण महाशाखा प्रमुख राजेन्द्र प्रधानको दाबी छ ।

फोहोरलाई कम्प्रेस्ड न्याचुरल ग्यास (सीएनजी) निकाल्ने वा बायोग्यास प्लान्टको व्यवस्थापन गरेर कुहिने फोहोरबाट ऊर्जा उत्पादन गर्ने र नकुहिनेलाई रिसाइकल गरेर व्यवस्थापनको तयारी गरिएको योजना उनले सुनाए । त्यसका लागि महानगरले वडा १६ को दरहियामा १० बिघा १० कट्ठा जमिन खरिद गरिसकेको छ । त्यहाँ सीएनजी वा बायोग्यास प्लान्टको व्यवस्थापनका लागि एक कोरियाली परियोजना र एसियाली विकास बैंकले प्रक्रिया अगाडि बढाएका छन् ।

दशकअघि फिनल्यान्डको करिब ४४ करोडको लागतमा मोरङको डंग्राहामा क्षेत्रीयस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र (ल्यान्डफिल साइट) निर्माण सुरु गरिए पनि स्थानीयले विरोध गरे । १३ करोड खर्चिएको योजना नै रद्द भएको थियो । प्रशोधन केन्द्र स्थापनाका लागि सरकारले त्यतिबेला करिब ३ करोड लागतमा हाल मोरङको साबिक डंग्राहा गाविस–५ मा २६ बिघा ९ कट्ठा जमिन किनेको थियो । उक्त योजना बनेको भए विराटनगरसहित इटहरी, धरान र इनरुवा नगरबाट दैनिक निस्कने ५ सय टन फोहोरको व्यवस्थापन गर्ने लक्ष्य थियो । 

पोखरामा दैनिक २ सय टन फोहोर बाच्छेबुडुवा ल्यान्डफिल साइटसम्म पुर्‍याउने जिम्मा ६ वटा निजी कम्पनीले पाएका छन् । वडा बाँडेर नेपाल पब्लिक हेल्थ इन्भाइरोन्मेन्ट प्रालि, वातावरणीय सुन्दर नेपाल प्रालि, भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालि, प्रगति संसार नेपाल प्रालि, वेस्ट म्यानेजमेन्ट प्रालि र पोखरा फोहोरमैला व्यवस्थापन प्रालिले घरघरबाट फोहोर उठाउँछन् । एक घरले महिनामा सरसफाइ शुल्क १ सय ५० रुपैयाँ तिर्नुपर्छ । होटल, रेस्टुरेन्टले मासिक ५ हजार र निजी कम्पनीले थप ५५ सयसम्म तिर्दै आएका छन् । महानगरले वार्षिक २ करोड रुपैयाँ फोहोरबाट आम्दानी गर्दै आएको छ । 

हाल निजी कम्पनीले आफ्नै गाडीमा घरेलु फोहोर संकलन गरी पोखरा–१४ बाच्छेबुडुवा ल्यान्डफिल साइटमा पुर्‍याउँछन् । त्यहाँबाट कबाडीजन्य र नवीकरणीय फोहोर संकलन भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिले गरिरहेको छ । त्यसबापत उक्त कम्पनीले वार्षिक ५० लाख रुपैयाँ महानगरपालिकालाई बुझाउँछ । ल्यान्डफिल साइट इन्चार्ज रेशम जीसीका अनुसार दैनिक ३० भन्दा बढी ढुवानीका साधनले फोहोर उठाउँछन् । 

०६१ बाट सञ्चालनमा आएको ल्यान्डफिल साइट २ सय रोपनीमा छ । तर नजिकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । विमानस्थल सञ्चालनमा आउन पोखराको ल्यान्डफिल साइट सार्नुपर्छ । सन् २०२२ भित्रै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी छ । ल्यान्डफिल साइटमा आहारा खोज्न आउने चिल र गिद्ध विमानस्थलकै वरिपरि घुम्छन् । ती चरा उड्दा हवाई उडानमा जोखिम हुन्छ । विमानस्थल सञ्चालन हुनुभन्दा ६ महिनाअघि नै ल्यान्डफिल साइट सारिसक्नुपर्छ । अन्तै सार्न जग्गा व्यवस्था भइसकेको छ । महानगरपालिकाको गत चैत १६ को बैठकले पोखरा–३३ भरतपोखरीको साबिक ६ र ७ नम्बर वडाको टिमुरपाटो खारखोलामा ल्यान्डफिल सार्ने निर्णय गरेको थियो । महानगर प्रमुख धनराज आचार्यले उक्त निर्णयलाई नै निरन्तरता दिने बताएका छन् । 

वीरगन्जमा दैनिक करिब ७० टन फोहोर संकलनको काम सार्वजनिक–निजी साझेदारीमा भइरहेको छ । संकलित फोहोर ल्यान्डफिल साइटमा तह लगाउने गरिएको छ । सिंघा नदी किनारको १६ बिघा १० कट्ठामा ४७ करोड ८० लाख रुपैयाँमा मझौला सहरी एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत २ वर्षअघि ल्यान्डफिल साइट बनाइएको हो । ल्यान्डफिल साइटका संरचना भत्किन थालेका छन् । नाला सफा गर्ने काम महानगरपालिकाले गर्छ । नगरमा धेरै फोहोर नालामै फालिन्छन्, जसलाई उठाउन निकै गाह्रो छ ।

वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले पदभार सम्हालेलगत्तै सरसफाइकर्मीसँग छलफल र मुख्य सडक छेउका पसल सञ्चालक र घरधनीलाई जथाभावी फोहोर नफाल्न आग्रह गरेका थिए । सहरको फोहोर व्यवस्थापन र ढल निकास मुख्य चुनौती रहेको सरसफाइकर्मी बताउँछन् । ‘बिहान नाला सफा गरेर गयो, साँझसम्म फेरि फोहोर थुप्रिसकेको हुन्छ,’ एक कर्मचारी भन्छन् । 

विनोद

भूषण

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully