कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन कांग्रेसकाे माग

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन माग गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरेको हो ।

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन कांग्रेसकाे माग

यहाँका अधिकांश मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हाल्ने काम गरेको कांग्रेसको आरोप छ ।

शुक्रबार कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेले बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य गरेको भन्दै निन्दा र भत्सर्ना गरेका छन् ।

‘निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कफ्र्यू) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,’ कांग्रेसले भनेको छ, ‘बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजिनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट हुन आउछ ।’

प्रकाशित : जेष्ठ ६, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?