उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन गर्ने कांग्रेसको चेतावनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन गर्ने कांग्रेसको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ ।

यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको छ ।

'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ' पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमार्फत् वैशाख १६ गते शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।

देशका विभिन्न पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेपछि पार्टीले शुक्रबार यस्तो निर्देशन दिएको हो । कांग्रेसले यसअघि डडेलधुरामा आधिकारीक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने कर्ण बहादुर मल्ललाई कारबाही गरिसकेको छ ।

प्रकाशित : वैशाख १६, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्

फेरि उम्मेदवार बन्‍न नपाउँदा मकालु गाउँपालिका अध्यक्ष पोखरेलले एमाले त्यागे

कान्तिपुर संवाददाता

संखुवासभा — गाउँपालिकाको अध्यक्षका लागि पार्टीले पुनःटिकट नदिएपछि संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका छन् ।

बिहीबार साँझ विज्ञप्ति निकालेर पोखरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । २०७६ को उपनिर्वाचनमा उनी एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पोखरेल एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य समेत हुन् ।

उनले मकालु गाउापालिकाबाट पुनः अध्यक्षको उमेदवारीको दाबी गरेका थिए । एमालेले उमेदवार नबनाएपछि रुष्ट बनेका उनले पार्टी परित्याग गरेको बताए । पार्टीका नेताहरूको गुटगत निर्णयले गर्दा आफूले गरेको योगदानको अवमूल्यन भएको उनले दाबी गरे । उनले भने, 'एमालेमा बसेर राजनीतिक जीवन बिताउन असहज भयो । '

एमाले छाडेका पोखरेलले कुन पार्टी जाने भन्ने खुलाएका छैनन् ।

प्रकाशित : वैशाख १६, २०७९ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×