संशोधन गरेर मात्रै अघि बढाऔं : दाहाल
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा लगेर टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा देउवाले एमसीसी संसद्मा पेस गर्नुपर्ने बताएका हुन् । सभामुख सापकोटाले भने एमसीसीबारे दलहरूबीच सहमति भएमा आफूले नरोक्ने बताएका छन् ।
‘प्रधानमन्त्रीले एमसीसी सदनमा लगौं, छलफल गरौं भन्ने कुरा राख्नुभयो,’ संसद्मा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलको बैठकमा सहभागी एक नेताले भने, ‘संसदीय प्रक्रियामा अगाडि बढाउँदै यसलाई टुंगो लगाऊँ भन्नुभयो ।’ देउवाले सांसद र राजनीतिक दलले एमसीसीबारे सदनमै कुरा राखेर टुंगो लगाउनुपर्ने र संसद्ले जे निर्णय गरे पनि सबैले स्वीकार्नुपर्ने बताएका थिए । एमसीसी सम्झौताले नेपालको विश्वसनीयतामाथि प्रश्न उठाएको देउवाको भनाइ थियो । ‘विश्वसनीयताको कुरा हुन्छ, यसलाई अल्झाएर राख्नुहुन्न,’ उनले भनेका थिए ।
सभामुख सापकोटाले भने निर्णायक भूमिका दलहरूको हुने बताएका छन् । ‘सबै विषयमा छलफल भएको छ, उहाँहरूले आ–आफ्नो धारणा राख्नुभएको छ । मैले सबैका धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचें, म खुला छु र मैले सबैका कुरा गम्भीरतापूर्वक सुनेको छु,’ उनले भने, ‘मैले विशेष रूपमा जोड दिएको चाहिँ संसद् सुचारु हुनुपर्छ । मेरो त अन्तिममा कुरा के हुन्छ भने म अम्पायर न हो, निर्णायक भूमिका दलहरूकै हुन्छ ।’ एमालेको अवरोधका बीच एमसीसी टेबुल र निर्णयार्थ प्रस्तुत नगर्ने अडान लिँदै आएका सभामुखले भने, ‘राष्ट्रिय महत्त्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने धारणा दोहोर्याएका थिए । ‘नेकपा हुँदा नै संशोधन गरेर पारित गर्नुपर्छ भनेको हो, माधवजी हामी सबै त्यहाँ थियौं । अहिले पनि मेरो कुरा त्यही छ,’ उनले भनेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सबै विषयमा सहमति गरेर अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी सुरुवातदेखि नेपाल सहभागी हुने बेलासम्मको वृत्तान्त सुनाएका थिए । कांग्रेस सचेतक पुष्पा भुसालले एमसीसी पारित गर्ने समयसीमा थोरै भएकाले अगाडि बढाउन प्रधानमन्त्रीले जोड गरेको बताइन् । सरकारमा रहेका बेला सबै राजनीतिक दलले एमसीसी परियोजनाबारे निर्णय गरेकाले अब पछि हट्न नमिल्ने कुरा बैठकमा सरकारको तर्फबाट आएको उनले बताइन् । एमसीसीलाई फागुन १६ भित्र पारित गर्नुपर्ने सीमा रहेको पनि राजनीतिक दलका नेताहरूलाई प्रधानमन्त्रीले स्मरण गराएको उनले जानकारी दिइन् । सर्वदलीय बैठकमा एमालेलाई पनि सहमतिमा ल्याएर संसद् बैठक सुचारु गराउनेबारे छलफल भएको भुसालले बताइन् । त्यसका लागि सभामुख, सरकार र सत्तारूढ दलहरूले थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।
माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी प्रक्रिया मिचेर संसद्मा प्रवेश भएको बताए भने जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवालले एमसीसी पारित गर्न नहुने बताए । जसपा अध्यक्ष उपेन्द्र यादव एमसीसीका विषयमा मौन बसे । नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी नेपालको अहितमा रहेकाले अस्वीकार गर्नुपर्ने बताएका थिए ।
