१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गठबन्धनभित्रै एकअर्कामाथि दबाब दिने रणनीति

प्रधानमन्त्री देउवा एमसीसी सम्झौतालाई तत्काल संसद्मा लैजान सहमति जुटाउने प्रयासमा, वाम गठबन्धनको सम्भावना देखाएर दबाब राख्ने दाहाल–नेपालको रणनीति
प्रधानमन्त्री देउवा आफैं र निकट नेताहरुमार्फत विपक्षी दलका नेता ओलीसँग पनि संवाद बढाउँदै
बबिता शर्मा

काठमाडौँ — एमसीसीसँगको अनुदान सम्झौतालाई यथास्थितिमै संसद्मा अगाडि बढाउने वा परिमार्जनसहित भन्नेमा मतभेद देखिएपछि गठबन्धन दलहरू एकअर्कामाथि दबाब पार्ने रणनीतिमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौतालाई तत्काल संसद्मा पठाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई दबाबमा पारेका छन् ।

गठबन्धनभित्रै एकअर्कामाथि दबाब दिने रणनीति

सम्झौतालाई परिमार्जन गर्नुपर्ने बताउँदै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भने एक्लै अगाडि बढ्दा त्यसले ल्याउन सक्ने राजनीतिक संकट र सम्भावित वाम गठबन्धनको त्रास देखाएर देउवामाथि दबाब बनाएका छन् । सम्झौता अनुमोदन गर्ने/नगर्ने निर्णय चाँडो लिन देउवा, दाहाल र नेपालमाथि अमेरिकी अधिकारीहरूको पनि ‘अतिरिक्त’ दबाब परेको कतिपय नेताहरू बताउँछन् । देउवाले माघ २६ को संसद् बैठकअगाडि नै एमसीसीमा सहमति जुटाउनका लागि क्रियाशीलता बढाएका छन् ।

तर, दुवै पक्ष सकेसम्म अहिलेको गठबन्धन नटुटोस् भन्नेमा ‘संयमित’ छन् । सोही कारण बुधबार प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको दुई चरणको वार्तामा एमसीसीबारे सहमतिको प्रयास भएको थियो । सोहीअनुसार देउवाले दाहाल र नेपालसँग उनीहरूका असहमतिका बुँदा माग गरेका थिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार दाहाल र नेपालले एमसीसी सम्झौता संशोधन गर्न तयार नभए पनि अनुमोदनका लागि आगामी निर्वाचनसम्म पर्खिन अमेरिकी अधिकारीहरूलाई आग्रह गर्न प्रस्ताव गरेका छन् । त्यसो नभए सम्झौतामा भएका केही बुँदा परिमार्जन गर्न आग्रह गर्ने प्रस्ताव पनि गरेका छन् ।

देउवाले भने प्रयास गर्ने तर मान्ने सम्भावना कम देखेको जवाफ दिएका थिए । दाहालले बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको प्रशिक्षणमा असहमतिका बुँदामा सहमति जुटाएर मात्रै अगाडि बढ्न सम्भव हुने बताएका छन् । अर्कोतर्फ माओवादी नेताहरूले एमसीसी चुनावसम्म धकेल्नका लागि देउवालाई दबाब दिन भन्दै कांग्रेसकै अर्को पक्षका नेताहरूसँग पनि भेटघाट बढाएका छन् ।

माओवादी अध्यक्ष दाहाल र कांग्रेस महामन्त्री गगन थापाबीच बिहीबार खुमलटारमा छलफल भएको थियो । थापा एमसीसीको विषयमा सार्वजनिक रूपमा खुलेका छैनन् । बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । कांग्रेसमा पनि एमसीसीलाई लिएर पछिल्लो समय मत विभाजित छ । प्रधानमन्त्री देउवा तत्काल अनुमोदन गर्न प्रयत्न गरे पनि केही नेताहरू भने अरू पार्टीले चुनावी मुद्दा बनाउन सक्ने भन्दै पछि अनुमोदन गर्दा फाइदा हुने बताउन थालेका छन् । अनुमोदन गर्नैपरे गठबन्धनकै सहमतिमा गर्नुपर्ने मत ठूलो छ ।

गठबन्धनमा रहेका दलहरूमाथि दबाब बनाउन प्रधानमन्त्री देउवाले आफैं र निकट नेताहरूमार्फत विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पनि संवाद बढाएका छन् । एमाले नेताहरूका अनुसार पछिल्लो पटक आइतबार देउवा र ओलीबीच लामो टेलिफोन संवाद भएको थियो । त्यसबाहेक कांग्रेसका दोस्रो तहका नेताहरू पनि ओलीनिकट नेताहरूसँग संवादमा छन् । यसअघि पुस ३ मा पनि देउवा र ओलीबीच टेलिफोन संवाद भएको थियो । त्यसअघि देउवाले कांग्रेस वरिष्ठ नेता पौडेललाई पनि ओलीलाई भेट्न उनको निवास पठाएका थिए भने पुस २४ मा आफैं बालकोट पुगेका थिए ।

एमालेले सभामुखको विकल्प खोजे र गठबन्धन भत्काउन तयार भए एमसीसीमा सहयोग गर्न सक्ने प्रधानमन्त्री देउवालाई बताएको छ । ‘अहिलेसम्म केपी ओलीले सभामुख हटाए पनि एमसीसी अनुमोदन गर्छु नै भनेर आश्वस्त हुने गरी बचन दिइसकेका छैनन्,’ कांग्रेसका एक नेताले भने । बिहीबार मात्रै एक कार्यक्रममा एमाले सचिव टोपबहादुर रायमाझीले ‘एमसीसी टेबुल गर्न सभामुख तयार नभए महाअभियोग लगाउनुपर्छ भनेर कांग्रेसले भने मात्रै साथ दिने’ बताएका छन् ।

सभामुख हटाउन दुई तिहाइ मत चाहिन्छ । प्रतिनिधिसभामा हाल एमालेका ९७, कांग्रेसका ६१, माओवादीका ४८, एकीकृत समाजवादीका २३, जनता समाजवादीका १८ र लोसपाका १३ सांसद छन् । २ सय ७१ सांसद कायम रहेको प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८१ जना चाहिन्छ । कांग्रेस सहमत भए एमाले र लोसपा गरी १ सय ७१ पुग्छ । थप १० सांसद जुटाउनुपर्छ । त्यसका लागि जसपाको मत चाहिन्छ । तर, जसपा अध्यक्ष उपेन्द्र यादव सभामुख हटाउने पक्षमा देखिएका छैनन् । ‘पहिला त गठबन्धनमै सहमति जुटाउने प्रयास हुन्छ, हुँदै भएन भने जसपाको पनि साथ लिन सकिन्छ कि भनेर छलफल भएको छ,’ कांग्रेसका एक नेताले भने, ‘जसपामा बाबुरामजीहरू एमसीसी अनुमोदन गर्नुपर्छ भनेर लागिरहनुभएको छ ।’

सभामुखले एमसीसी टेबुल गर्नुअघि एमालेले गरिरहेको संसद् अवरोध खुल्नुपर्ने अडान राखेका छन् । उता माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूले पनि प्रधानमन्त्रीले जबर्जस्ती एमसीसी अगाडि बढाउन खोजे गठबन्धन तोडिन सक्ने आकलनसहित आगामी चुनावमा गर्न सकिने सम्भावित समीकरणलाई लिएर अनौपचारिक संवाद अगाडि बढाएका छन् । एमालेका दोस्रो तहका नेता र माओवादी अध्यक्ष दाहालसहितका नेताहरूबीच अनौपचारिक संवाद भइरहेको निकट स्रोतले दाबी गरेका छन् । ‘अनौपचारिक तहमा दुवैतर्फबाट एकखालका छलफल भएकै छन्, भविष्यमा आवश्यकताअनुसार सहकार्यका लागि विश्वासको वातावरण बन्न सक्छ,’ एमालेसँग संवादमा रहेका माओवादीका एक नेताले भने ।

अर्कोतर्फ माओवादी अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठले आफ्ना पार्टीका मन्त्रीहरूलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका छन् । खुमलटारस्थित निवासमा मंगलबार मन्त्रीहरूलाई बोलाएर दाहालले सकेसम्म यही गठबन्धनलाई जोगाएर चुनावसम्म जाँदा फाइदा हुने तर एमसीसी जबर्जस्ती अगाडि बढाउन खोजिए सरकारबाट बाहिरन पनि तयार रहन निर्देशन दिएका छन् ।

प्रकाशित : माघ २१, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?