२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९
कांग्रेस महाधिवेशन

आरक्षणमै सीमित भए महिला

संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ । तर कांग्रेसमा १३४ पदको निर्वाचन हुँदा १ पदाधिकारीसहित ४१ जना अर्थात् ३० प्रतिशत मात्रै महिला प्रतिनिधित्व भएको छ ।

काठमाडौँ — कांग्रेसमा ११ औँ महाधिवेशनसम्म महिलाको प्रतिनिधित्व गराउनैपर्ने बाध्यकारी व्यवस्था थिएन । १२ औँ महाधिवेशनदेखि कांग्रेसले महिलालाई आरक्षण त दियो, तर आरक्षणबिना नै महिला नेतृहरू पार्टीको पदाधिकारी उम्मेदवार बन्थे, र निर्वाचित हुन्थे । जस्तो कि १२ औँ महाधिवेशनबाट चित्रलेखा यादव कोषाध्यक्ष बनेकी थिइन् भने १३ औँ बाट सीतादेवी यादव ।

आरक्षणमै सीमित भए महिला

१२ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पराजित भए, तर उनको समूहबाट उम्मेदवार बनेकी यादव कोषाध्यक्ष बनेकी थिइन् ।

१३ औँ महाधिवेशनमा कोषाध्यक्षका लागि उमाकान्त चौधरी र कृष्ण कार्की पनि प्रतिस्पर्धामा थिए, पुरुष प्रत्यासीलाई हराएर सीतादेवी कोषाध्यक्ष बनिन् । तर, १४ औँ महाधिवेशनमा मुख्य–मुख्य समूहहरूले महिलालाई पदाधिकारीको उम्मेदवार नै बनाएनन् । महिला नेतृहरूले पनि आरक्षण बाहेकका पदमा उम्मेदवारी दिने हिम्मत गरेनन् ।

जसकारण महिलाले खुला प्रतिस्पर्धामा आउनुपर्छ भनेर वकालत गर्दैआएका चर्चित महिला नेतृहरू नै आरक्षणमा सीमित भएका छन् । १३४ पदको निर्वाचन हुँदा महिलाको प्रतिनिधित्व ३० प्रतिशत मात्रै भएको छ ।

यसपटक कांग्रेसले १३ पदाधिकारी चुनेको छ, तर त्यसमध्ये महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक सबै पुरुष छन् ।

१२१ केन्द्रीय सदस्य निर्वाचित हुँदा महिलाको संख्या ४० जना मात्रै हो । पदाधिकारीमा सहमहामन्त्री महिला आरक्षणमा बाहेक उपसभापति पदमा प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, विमलेन्द्र निधि समूहबाट दिव्येश्वरी शाह उम्मेदवार थिए ।

त्यस्तै, दलित सहमहामन्त्रीमा सिंह समूहबाटै गंगा सुनार उम्मेदवार थिइन् । तर, उनीहरू कोही पनि निर्वाचित हुन सकेनन् । त्यसबाहेक कुनै पनि खुला प्रतिस्पर्धामा महिलाले भाग लिएनन् ।

सभापति शेबरहादुर देउवा समूहबाट कास्कीकी संविधानसभा सदस्य शारदा पौडेल खुला केन्द्रीय सदस्य पदकी आकांक्षी थिइन् । सुरुआतमा देउवा प्यानलमै परेकी पौडेल ३५ खुला सदस्यका ९९ उम्मेदवारमध्ये एक्ली महिला उम्मेदवार थिइन् । तर, अन्तिम समयमा उनलाई प्यानलबाट निकालियो, र उम्मेदवारी नै फिर्ता लिइन् ।

नेपालको संविधान, ०७२ ले महिलाको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । तर, राजनीतिक दलको पदाधिकारी वा कार्यकारिणी समितिबारे प्रष्ट व्यवस्था गरेको छैन । त्यसैले दलहरूले महिलालाई कार्यकारी पदमा पुर्‍याउने होइन, उम्मेदवारकै रुपमा समेत स्वीकार नगरेको देखिन्छ ।

साढे सात दशक पूरानो दल कांग्रेसमा अहिलेसम्म महिलाहरूले सभापति वा महामन्त्री बन्ने अवसर पाएका छैनन् । जबकि ००४ सालमै मंगलादेवी सिंहले नेपाल महिला संघ खोलेर प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएकी थिइन् । कांग्रेस अहिले पनि त्यो इतिहास पढाइरहेको छ । तर प्रजातन्त्र प्राप्तिको आन्दोलनमै अग्रपंक्तिमा खटिएका महिलाको नेतृत्व अहिले गणतन्त्रमा पनि सर्वस्वीकार्य बनेको छैन ।

कांग्रेसमा द्वारिकादेवी चन्द ठकुरानी ०१५ सालको बीपी कोइराला सरकारमा स्वास्थ्य सहायक मन्त्री थिइन् । शैलजा आचार्यले उपप्रधानमन्त्री तथा उपसभापतिसम्म भएर काम गर्ने मौका पाइन् । सुजाता कोइराला पनि उपप्रधानमन्त्रीसम्म बनिन् । चित्रलेखा यादवले उपसभामुख तथा कोषाध्यक्षको र सीतादेवी यादवले कोषाध्यक्षको भूमिका निर्वाह गरे । यसबाहेक कांग्रेसबाट महिलाले सर्वोच्च पद वा अवसर पाएका छैनन् ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट १२ महिला निर्वाचित थिए, पछि मनोनितसहित १०३ सदस्यीय केन्द्रीय समितिमा महिलाको संख्या २० मात्रै थियो । त्यसआधारमा यसपटक कांग्रेसमा महिला सहभागिता बढेको नवनिर्वाचित सहमहामन्त्री महालक्ष्मी उपाध्याय दाबी गर्छिन् ।

उनले आफू पदाधिकारी नै भएकाले आगामी दिनमा पार्टीमा महिलाहरू प्रतिनिधित्व वृद्धि गराउन प्रभावकारी योजनासहित काम गर्ने बताइन् । ‘अहिले हामी जति महिलाहरू निर्वाचित भएका छौँ, यो विगतकोभन्दा धेरै हो । तर पर्याप्त होइन,’ उनले भनिन्, ‘यसपटक अत्यन्तै न्यून संख्यामा महिला पदाधिकारी राख्ने व्यवस्था भयो, यसलाई वृद्धि गर्ने र महिलालाई निर्णायक तहमा पुर्‍याउने विषयमा मेरो भूमिका हुन्छ, मैले दृढ संकल्प गरेकी छु ।’

उनले पदाधिकारीमै महिलाको एक तिहाई प्रतिनिधित्व गराउनुपर्ने माग आफूले पहिले पनि गरेको र अब पनि त्यसलाई जोडतोडले उठाउने बताइन् ।

‘महिलाले कोटामा मात्रै होइन, सशक्त भएर खुला प्रतिस्पर्धामा पनि आउन सक्नुपर्छ । हामी जित्न सक्छौँ र नेतृत्व गर्न सक्छौँ भन्ने क्षमता विकास गर्नुपर्छ,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘म १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यको उम्मेदवार थिएँ, तर पराजित भएँ । यसपटक आरक्षणको उपयोग गरेँ, अब आगामी दिनमा खुला प्रतिस्पर्धामै जान्छु, यो मेरो घोषणा नै हो ।’

१४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएका ४० केन्द्रीय सदस्यमध्ये अधिकांश पुरानै अनुहार छन् । महिला खुलातर्फ डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमति शाही निर्वाचित भएका छन् । उनीहरूमध्ये राणा, ढकाल र शाहीमात्रै नयाँ हुन् । बाँकी यसअघि नै केन्द्रीय सदस्य भइसकेका नेता हुन् ।

दलिततर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक निर्वाचित भएका छन् । उनीहरूमध्ये शान्ति र रुपा नयाँ हुन् ।

मधेशीतर्फ नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरू सबै नयाँ हुन् । त्यस्तै, थारुतर्फ कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन् भने मुस्लिमतर्फ जुवेदा खातुन निर्वाचित भएकी छन् । राना र खातुन नयाँ अनुहार हुन् ।

सात प्रदेशबाट महेन्द्रकुमारी लिम्बू, चित्रलेखा यादव, उर्मिला नेपाल केसी, सरस्वती अर्याल तिवारी, शिला शर्मा खड्का, जानकी सिंह र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन् । यादव पूर्वकोषाध्यक्ष समेत हुन् भने खड्का स्वर्गीय नेता खुमबहादुर खड्काकी पत्नी हुन् । उनलाई पनि देउवाले यसअघि केन्द्रीय सदस्य मनोनित गरेका थिए । बाँकी सबै केन्द्रीय समितिमा आएका नयाँ अनुहार हुन् ।

कांग्रेसले यसपटक दलित, महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारु र खसआर्य गरी सात समावेशी समूहमध्ये सबै समूहमा महिलाका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको थियो ।

प्रकाशित : पुस ८, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?