‘डब्लूएचओले अनुमति दिनासाथ बुस्टर डोज’

पुस ८, २०७८

अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अनुमति दिए पुस अन्तिमबाट कोभिडविरुद्धको बुस्टर डोज लगाउने प्रक्रिया थाल्ने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।

‘डब्लूएचओले अनुमति दिनासाथ केही समयमै अर्थात् पुसको अन्तिमतिर बुस्टर डोज लगाउने प्रक्रिया सुरु गर्छौं,’ मन्त्री खतिवडाले भने । पहिलो चरणमा फ्रन्टलाइनमा बसेका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र त्यसपछि क्रमशः वृद्घवृद्घा र बालबालिकालाई बुस्टर डोज दिइने उनको भनाइ छ । 

विज्ञहरूले भने नयाँ भेरिएन्टको तीव्र फैलावटसँगै अर्को लहरको जोखिम बढ्दै गएकाले डब्लूएचओको अनुमति कुर्नु नपर्ने बताएका छन् । डब्लूएचओको अनुमति कुर्दा मुलुकमा थप स्वास्थ्य जटिलता निम्तिन सक्ने उनीहरूको चेतावनी छ । ‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पूर्ण खोप लगाएर ६ महिना पूरा गरेकालाई तुरुन्त बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ । 

नेपालमा बुधबार मात्र थप एक जना ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले संक्रमित व्यक्ति घरमै आइसोलेसनमा रहेको र उनीसँग सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको जानकारी दिइन् । हालसम्म २ हजार ३८ जनाको नियमित जिन सिक्वेन्सिङ गर्दा २२ वटामा डेल्टा भेरिएन्ट र एउटामा ओमिक्रोन भेरिएन्ट भेटिएको हो । योसँगै नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन पुष्टि भएको जनाएको थियो । 

भारतमा २ सय १३ जनामा ओमिक्रोन पुष्टि भएको छ । राजधानी दिल्लीमा क्रिसमस र अंग्रेजी नयाँ वर्षका सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ । खुला सीमा र सिधा हवाई सम्पर्कका कारण भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको जोखिम बढेको छ । ओमिक्रोनका कारण आउन सक्ने अर्को लहरको जोखिम कम गर्न पनि बुस्टर डोज सुरु गर्न विज्ञहरूले सुझाइरहेका छन् ।

‘भारतमा संक्रमणको विस्फोट भए हामी अछुतो रहन्छौं ?’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘त्यहाँ १६ दिनमै १२ राज्यमा ओमिक्रोन बिस्तार भएको छ । हामीकहाँ समेत आज (बुधबार) थप एक जनामा ओमिक्रोन देखियो ।’

कोरोना भाइरसकोरोना खोप

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully