काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल सुरु भएको छ । एमालेको संसदीय विभागले आइतबार एमसीसीबारे स्पष्ट धारणा तय गर्नका लागि छलफल सुरु गरेको हो ।
नेकपा (एस)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विषयमा पार्टीले स्पष्ट धारणा तय गर्ने बेला आएको भन्दै छलफल थालिएको जानकारी दिए । 'एमसीसीले हाम्रो पार्टीमा छलफलका लागि विषय रूपमा प्रवेश गरेको छ । निष्कर्ष निस्किएको छैन । सर्वदलीय र गठबन्धनको बैठक भएकाले विषय प्रवेश मात्रै गरियो । यसको गहिराइमा गएर के गर्न सकिन्छ भन्ने टुंगो लाग्छ,' उनले भने ।
नेकपा (एस)ले एमसीसीबारे पहिलोपटक छलफल थालेको हो । एमसीसीबारे पार्टीको धारणा स्पष्ट पार्ने र सरोकार राख्ने सांसदहरूलाई पनि त्यसबारे जानकारी दिने कार्यक्रम रहेको श्रेष्ठले बताए । उनले सांसद र पार्टी केन्द्रीय नेतृत्वले पनि छलफल गरेर एमसीसीबारे स्पष्ट धारणा राखिने बताए ।
'पार्टीले यस विषयमा के गर्ने भन्ने आफ्नो धारणा सार्वजनिक गरेको छैन । एमसीसीबारे सरोकार राख्ने सांसदहरू भएकाले उहाँहरूले के गर्ने भनेर स्पष्ट गर्नुपर्ने भयो भनेर संसदीय विभागको छलफल आयोजना गरिएको हो,' श्रेष्ठले भने, 'साधारणतया एमसीसीमा रहेका राष्ट्रहीत विपरीतका शर्तहरूको हकमा संशोधन गर्नुपर्छ भन्ने पार्टीको धारणा हो ।'
एमसीसी सम्झौतापछि सन् २०१७ मा ज्ञानेन्द्रबहादुर कार्की र सन् २०१९ मा युवराज खतिवडा अर्थमन्त्री हुँदा गरिएका सम्झौता पार्टीले छलफलका विषय बनाएको श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपाललगायतका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ गठबन्धन र सर्वदलीय बैठकका लागि बालुवाटार जानुपर्ने भएकाले धेरै छलफल हुन नपाएको उनले जानकारी दिए । 'राष्ट्रिय हित विपरीतका कुराहरू संशोधन गर्नुपर्छ भन्ने हाम्रो धारणा उहाँहरूले दुवै बैठकमा राख्नुहुन्छ । गठबन्धनको बैठकमा छलफल गरेर सहमति गरेर जाउँ भन्ने कुरा रहन्छ । हतार गर्ने भन्दा पनि छलफल गरेर अगाडि जाउँ भन्ने हाम्रो कुरा हो,' उनले भने ।
एमसीसीबारे थप छलफलका लागि संसदीय विभाग र पार्टीको बैठक निरन्तर बस्ने श्रेष्ठले जानकारी दिए । त्यस विषयमा मन्त्रीहरूका कामकारबाहीका विषयमा पनि छलफल हुने उनले बताए ।
