कांग्रेस महामन्त्रीमा गगन थापा जितनजिक

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापा जित नजिक पुगेका छन् । ३१२० मत गन्दा थापाले २०३७ मत ल्याएका छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

अहिले पार्टी कार्यालय अगाडि थापाका शुभेच्छुकहरुले नारबाजी गर्दै मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरुले 'कांग्रेसभित्रको क्रान्ति दुई तिहाइको महामन्त्री', 'आमाबाबु दाजु भाइ, धन्यवाद छ सबैलाई' भन्दै नाराबाजी गरिरहेका छन् । 

यस्तै, विश्वप्रकाश शर्माले १२५५, प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, मीनेन्द्र रिजालले ५४६ मत र राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् । 

यही अनुपातमा मत खसे विश्वप्रकाश शर्माले पनि जित्‍न सक्ने सम्भावना देखिएको छ । 

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् । त्यस्तै, शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । 

कान्तिपुर

Link copied successfully