काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ३१२० मत गन्दा गगन थापा २०३७ र विश्वप्रकाश शर्मा १२५५ मतसहित अगाडि रहेका छन् ।
प्रकाशशरण महत १०२४ मतसहित तेस्रो स्थानमा छन् । यसअघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ९३५ मतसहित चौथो स्थानमा झरेका छन् । त्यस्तै मीनेन्द्र रिजालले ५४६ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् । यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।
महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।
सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।
