नेतृत्व बदल्न खोज्नेहरू आफैं यसरी बदलिए 

पुस १, २०७८

काठमाडौँ — ०७४ को निर्वाचनमा कांग्रेस ६३ सिटमा खुम्चियो । पार्टी र सरकारको नेतृत्वमा रहेका शेरबहादुर देउवा कांग्रेसभित्रै विपक्षी खेमाको तारो बने । निर्वाचन हारको जिम्मेवारी बोकाएर नेतृत्व परिवर्तन गर्ने मुद्दा अघि सारियो । त्यही मुद्दा बोकेर नेता रामचन्द्र पौडेलले वैचारिक दृष्टिकोणसहितको नेतृत्व परिवर्तन गर्ने भन्दै देशभर अभियान छेडे । 

कम्युनिष्ट सरकारले सात वर्षमा गर्न नसकेको सुशील कोइराला नेतृत्वको सरकारले दुई वर्षमा नै संविधान जारी गर्ने ऐतिहासिक काम पूरा गर्दा पनि कांग्रेस किन पराजित हुन पुग्यो’ भन्ने प्रश्न पटकपटक गरेका नेता प्रकाशमान सिंहले आफ्नो स्वभाव ‘स्टेट फरवार्ड’ रहेको भन्दै पार्टीभित्र एन्टी देउवा अभियान छेडेका थिए । सार्वजनिक र पार्टीका आन्तरिक बैठकमा आफ्नै नेतृत्वविरुद्ध उनी जे बोल्थे, लाग्थ्यो पार्टीमा उनीभन्दा अरु प्रगतिशील कोही छैन । 

अर्का नेता विमलेन्द्र निधि आउने चुनावमा पार्टीलाई बहुमतमा पुर्‍याउन पनि नेतृत्व परिवर्तन आवश्यक ठान्थे । पाँच पटकसम्म प्रधानमन्त्री बन्ने अवसर पाएर पनि समाज र देशले सम्झन लायक काम गर्न नसकेका देउवाको अनुहारबाट अब पार्टी र मुलुक अघि बढ्न नसक्ने उनको भित्री निष्कर्ष थियो । 

'विगत दुई वर्षदेखि शेरबहादुरजीलाई म मात्रै हराउन सक्छु, अरु कसैले सक्दैन’ भन्ने थेगो नै बनाएका थिए बीपी पुत्र शशांकले । नेतृत्वलाई यथास्थितिबाट अघि बढ्न उत्प्रेरित नगराउनेमा उनको मुख्य हात रहेको कुरा कांग्रेस पंक्तिमा खुबै चर्चा चल्छ । तर, पनि पछिल्ला वर्षमा उनले नेतृत्व परिवर्तनकै मुद्दामा आएका थिए ।

बीपीकै विरासत भएकै कारण अरुभन्दा आफै बलियो भएको तर्क उनको थियो । संगठनकर्तामा उनी देउवा भन्दा बढी यथास्थितिवादी भएको आरोप कांग्रेसका शीर्ष नेताहरूले लगाउने गर्छन् । 

नेता कृष्णप्रसाद सिटौलालाई ०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ १ नम्बरमा नाम राखेर झापामा राप्रपासँग गठबन्धन गर्ने निर्णय देउवाले लिएका थिए । आफूसँग सल्लाह नै नगरी आफ्नै निर्वाचन क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गरेकोमा उनी चिढिए । उनकै आक्रोशले समानुपातिकबाट नाम हटाएर उनलाई चुनाव लड्न पठाइयो । 

राप्रपा अध्यक्ष लिङ्देनले रातारात कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरे । सिटौला हारे, लिङ्देन जिते । देउवासँग लाभ लिँदै आएका सिटौला त्यही घटनाबाट संस्थापन समूहबाट बाहिर निस्किए र उनी पनि पौडेलले सुरु गरेकै नेतृत्व परिवर्तनको अभियानमा जोडिए ।

युवा नेता विश्वप्रकाश शर्मा जिल्ला संगठनबाट केन्द्रमा आउने यात्रामा थिए । १२ औं महाधिवेशनमा उनी पार्टीको जिल्ला सभापतिमा उठे । सिटौलासहितको मोर्चाबन्दीले उनलाई त्यहाँ सफल हुन दिएन । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेपछि  देउवाले पार्टीको प्रवक्ता बनाएर कद बढाइदिएका थिए । 

समाजको मुद्दा र गतिमा बग्न सक्ने, विपक्षीका प्रोपागन्डा चिरेर जनतामा आशा जगाउन सक्ने नेताको छवि बनाएकै कारण उनीप्रतिको आकर्षण पार्टीमा बढ्दै गएको थियो । कम्तिमा यीनले नेताको दौराको फेरभन्दा विवेक र मुद्दा समात्छन् भन्ने आम अपेक्षा थियो । 

अर्का नेता प्रदीप पौडेल सडकबाटै नेता बनेका हुन् । सडकको एजेन्डालाई साथ दिएकै कारण उनी यस स्थानमा आइपुगेका हुन् । पार्टीभित्र संस्थापनको स्थायी प्रतिद्वन्द्वीको छवि बनाएका थिए । पौडेलका कयौं बहस र अर्न्तवार्ताहरू हेर्दा र सुन्दा पार्टीको रुपान्तरण नेतृत्व परिवर्तनबाट सम्भव हुने ठानेका थिए ।

०७४ को निर्वाचनपछि नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशनको मुद्दा उठाउने मध्येमा उनी अग्रपंक्तिमा पर्छन् । देउवाले विशेष अधिवेशनका आवाजप्रति बेवास्ता गर्दै गएपछि समयको प्रवाहसँगै माग बदलिँदै गयो । विशेषपछि अर्ली र अर्लीपछि नियमित महाधिवेशनका मुद्दा उठे । पार्टीभित्र धेरै पेचिला अन्तरद्वन्द्वहरू चले । यी सबैमा केन्द्रमा थिए प्रदीप । 

नेतृत्व बदल्न युवाले आँट नगरेको भन्दै कल्याण गुरुङ आफै मैदानमा आए । एक्लै झोला बोकेर नेतृत्व परिवर्तनको एजेन्डालाई अनुमोदन गर्न खोजे । नसकेपछि उनी पनि पुरानै मार्गतिर दौडिए । 

भाषा, शैली र व्यवहार फरक थिए । सबैको चाहना थियो नेतृत्व बदल्ने । तर, बदल्ने निर्णायक घडीमा भने उनीहरू आफैं बदलिएर गए । कसरी बदलिए ? सुरु गरौं रामचन्द्र पौडेलबाटै । राजनीतिक जीवनको उत्तरार्द्धमा आइपुगेका पौडेललाई एकपटक पार्टीको सभापति र प्रधानमन्त्री बन्ने भित्रैदेखिको हुटहुटी थियो ।

समकालीन साथी शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र पार्टी सभापति भइसक्दा आफूले त्यो स्थान पाउन नसकेकोमा ईर्ष्या थियो । यसपटक प्रकाशमान सिंह र शेखर कोइरालाले बाटो छेकेको भन्दै उनी भित्रैदेखि स्तब्ध छन् । 

त्यसैको आवेगमा क्षणभरमै नेतृत्व र एजेन्डा दुवै छाडिदिए । १३ औं महाधिवेशन अघिसम्म उनी पार्टीमा मध्यमार्गी नेताकै रुपमा रहन्थे । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको झगडामा देउवाले लाभ उठाउँदै गए भने पौडेल नेता मिलाउन मध्यमार्गी भूमिका निर्वाहमा सीमित बन्दै गए । ‘न यता, न उता’ को अवस्थामा रहेकै कारण उनी पार्टी र सरकारमा पहिलो हुने अवसर चुकाउँदै आएका छन् । १३ औं महाधिवेशनकै मुखमा सुशील कोइरालाको निधन भयो ।

त्यसपछि नै पौडेलले कार्यवाहक सभापतिका रुपमा कोइराला परिवारको विरासत सम्हालेका हुन् । कोइराला परिवारसँग पौडेलको विगत धेरै सुमधुर थिएन । गिरिजाप्रसाददेखि सुशील कोइराला नेतृत्वको लामो कालखण्ड उत्तरचढावपूर्ण संघर्षबाट हुर्केर आएको थियो । अहिले जुन स्थानमा आफूलाई पुर्‍याएका छन्, त्यसका पछि तीनै विगतका पृष्ठभूमिले काम गरेको हुनसक्ने अनुमान पनि छन् । आफैंले नेतृत्व गरेको समूहबाट प्रकाशमान र शेखर दुवैजना उम्मेदवार बन्दा कसको पक्ष लिने भन्ने समस्या उनलाई सुरुमा थियो । 

जब, पहिलो चरणको नतिजामा कसैले पचास प्रतिशत कटाउन सकेन र पुनः निर्वाचनमा जानुपर्ने अवस्था बन्यो त्यतिबेला उनमा कुनैपनि अन्योल र द्विविधा हुनुपर्ने कारण थिएन, एजेन्डाको हिसाबले ।

तर, तटस्थ बसिदिए । महाधिवेशनमा आफ्नो अभिमत समेत प्रकट गरेनन् । नेतृत्व बदल्ने एजेन्डा लिएर चार वर्षसम्म संघर्ष गरेको एउटा नेताले आफू उम्मेदवार हुन् नपाएकै चित्त दुखाईमा तटस्थ बस्नु र अभिमत प्रकट समेत नगर्नुलाई उनकै पक्षमा वकालत गर्दै आएका नेताहरूले नै अस्वभाविक र अराजनीतिक व्यवहार ठानेका छन् । 

उनलाई नजिकबाट चिन्ने नेताहरू समयमै सही निर्णय गर्न नसक्दाकै परिणाम पार्टी र सत्तामा पहिलो हुने अवसर गुमाउँदै आएको बताउँछन् । पौडल निकट एक नेताकाअनुसार २०५१ सालको मध्यावधि निर्वाचनपछि सभामुख बन्न खोजेर उनको त्यस्तै गल्ती गरेका थिए, जसका कारणले उनलाई प्रधानमन्त्रीको सिँढी चढ्न सधैं छेकबार लाग्यो । त्यतिबेला सभामुख नबन्न धेरै शुभचिन्तकले सुझाएका थिए । गिरिजाप्रसादको प्रस्तावमा सरक्कै सभामुख भइदिए । त्यसपछि नै देउवालाई खुलेको थियो प्रधानमन्त्री बन्ने बाटो ।  

पार्टी प्रतिस्पर्धाबाट बाहिर परेपनि आफ्नो समूहलाई नेतृत्व दिएर सक्रिय राजनीति गरि राख्ने अवसर उनलाई थियो । महाधिवेशनको मुखमा आएर उनले त्यो स्पेस गुमाएका छन् । जुन परिस्थिति र परिवेशमा उनले तटस्थ बस्ने निर्णय लिए, त्यसले उनको कद बढेन ।

उम्मेदवार बन्न नपाएर ‘तुष्टि’ साँधेको सन्देशका रुपमा गएको छ । नेताले विचार र अडान त्याग्नु भनेको राजनीतिबाट अलग हुनु हो । राजनीतिक अडान र नेतृत्व दुवै छाडेको अवस्थामा पौडेल आइपुगेका छन् । पार्टी प्रतिस्पर्धाबाट बाहिर रहेर पनि नेतृत्व गर्न जुरेको अवसर उनले गुमाएका छन् । अब त्यो स्थान शेखरले लिएका छन् । 

प्रकाशमानलाई यसपटक शेखरले आफूलाई साथ दिए एक्लो उम्मेदवार हुन सकिने विश्वास थियो । पार्टीमा उपसभापति, महामन्त्री र सरकारमा उपप्रधानमन्त्री भइसकेकाले आफ्नो नेतृत्वमा अटाउन धेरै सिनियर नेतालाई सहज हुने उनको तर्क थियो । शेखरले नछाडेपछि दुवै जना उम्मेदवार भए । 

दोस्रो राउन्डमा उनी आफ्नै एजेन्डा विपरीत गए । शेखरलाई सघाएनन् । यसका पछि गणेशमान र कोइराला परिवारको परम्परपागत अन्तर्द्वन्द्वको मनोविज्ञान समेत जोडिएको छ ।

गणेशमान परिवारले कोइरालाका लागि जहिले पनि त्याग गर्नुपर्ने, कोइराला परिवारले कहिल्यै त्याग गर्न नहुने’ ? उम्मेदवार छनोट गर्ने क्रममा बसेका आन्तरिक बैठकमा सिंहको यस्तो भनाई बारम्बार प्रकट हुन्थ्यो । 

शेखरले आफूलाई नछाडेपछि मैले किन छाड्ने भन्ने मनोविज्ञानले मुख्य काम गरेको सिंह निकट नेताहरू बताउँछन् । शेखरसँग लाग्दा १५ औं महाधिवेशनसम्ममा आफू र आफ्नो पुस्ता असान्दर्भिक हुने डर पनि थियो । शेखरका राजनीतिक उत्तराधिकारी गगन बनिसकेका थिए ।

‘एकपटक,यसैपटक’ भन्ने नारा दिएका शेखरले अर्कोपटक गगनलाई सभापतिमा अघि सार्ने मनोविज्ञान पनि प्रकाशमानमा पर्‍यो । शेखरको हातमा पार्टी जाँदा उनका पछि लामबद्ध युवा पंक्तिबाट अप्ठ्यारो पर्ने ठानेरै देउवातिर लाग्दा आगामी ५ वर्षका लागि पनि आफ्नो राजनीतिक सार्न्दभिकता जोगाउन सकिने उनले ठानेको हुनुपर्छ । आफूलाई केन्द्रमै राखेर नेतृत्व परिवर्तनको एजेन्डालाई त्यागिदिए । 

विमलेन्द्र निधिकासामु तीन विकल्प थिए । शेखर वा देउवालाई सघाउनु र तटस्थ बसेर मतदातालाई स्वविवेक प्रयोग गर्न लगाउनु । उनी नेतृत्व परिवर्तनकै मोर्चामा उभिन तयार थिए । तर, प्रकाशमानको साथ विना सम्भव नभएपछि उनले पनि आफूलाई बदले । देउवासँगको २६ वर्षको राजनीतिक सहकार्य तोडेर उनी आँफैले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । आफू सफल नभएपनि नेतृत्व परिवर्तनमा सहजीकरण हुने उनको विश्वास थियो ।

सम्भव नदेखेपछि हार खादै फेरि पुरानै घरतिर फर्किए । एजेन्डालाई साथ दिने मोडमा उनीपनि अडिन सकेनन् । 

१३ औं महाधिवेशनमा शेखर महामन्त्रीका दाबेदार थिए । शशांकले पनि महामन्त्रीमा इच्छा राखे । शेखरले भाइका लागि छाडिदिए । ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न खोज्दा पनि शशांककै कारण उनले छाडेका थिए । यतिबेला भाइको पूर्ण साथ र सहयोग पाउने आशा शेखरमा थियो । तर, आफू उम्मेदवार नभएपछि उनी पनि तटस्थ बसिदिए । बरु, आफ्नै दाइसँग प्रतिस्पर्धा गरेका देउवासँग हात मिलाउन उनी बालुवाटार पुगे ।

परिवारमा विवाद आएपनि आखिरी समयमा कोइराला परिवार एकै ठाँउमा उभिन्छन् भन्ने मान्यताले यसपटक फेल खायो । शेखर सभापतिमा प्रतिस्पर्धा गरिरहँदा गिरिजापुत्री सुजाता प्रकाशमान सिंहको टिमबाट उपसभापतिमा प्रतिस्पर्धा गरिन् भने बीपी पुत्र शशांकले खुलेर सहयोग गरेनन् । उनी देउवाकै टिममा उपसभापति लड्न तयार भइसकेका थिए  । शेखरको टिमबाट महामन्त्री उम्मेदवार रहेका मिनेन्द्र रिजालले उनलाई रोकेका थिए । राष्ट्रिय राजनीतिमा रहेका तीन कोइराला तिनतिर हुन पुगे । कोइराला परिवारभित्रको अन्तरद्वन्द्वको लाभ पनि देउवालाई मिल्यो । 

सिटौला यसपालि निकै द्विविधामा थिए । आफूले लिएको एजेन्डा स्थापति गर्न आँफै उठ्ने वा देउवासँग मिल्ने दुई विकल्प थिए । गगन थापाले उनलाई तत्कालीन पौडेल समूहतिरै जोड्न खोजेका थिए । सम्भव नभएपछि उनको साथ छाडे । त्यसले सिटौलालाई गहिरो चोट पुर्‍यायो । बदला लिने समय पर्खिइरहेका थिए । विश्वप्रकाशलाई गृह जिल्लादेखि नै र केन्द्रमा गगनसँग बदला लिनकै लागि उनले प्रदीप पौडेललाई महामन्त्री बनाउन खोजे ।

त्यसका लागि उनले देउवासँगै जानुपर्ने निष्कर्षमा पुगे । नेतृत्व परिवर्तनको एजेन्डा छाडिदिए । प्रदेश, जिल्ला अधिवेशनमा देउवासँगकै गठबन्धनमा आफ्नो केही सामर्थ्य बढाए । गगनको विकल्पमा प्रदीपलाई महामन्त्री बनाउन देउवासँग बार्गेनिङ थाले । सिटौलाको मतलाई निर्णायक ठानेका देउवाले प्रस्ताव सहजै स्वीकारी दिए । सिटौलाको नेतृत्व परिवर्तनको एजेण्डा पौडेललाई महामन्त्री बनाउने ठाउँमा पुगेर टुंगियो । 

देउवाले प्रवक्ता बनाए पनि शर्मा नेतृत्व परिवर्तनकै पक्षमा थिए । उनको प्राथमिकता शेखर कोइराला टिम थियो । त्यहाँ खटपट हुने देखेपछि उनी प्रकाशमानको टिममा आएर महामन्त्रीमा प्रतिस्पर्धा गरे ।

नेतृत्व परिवर्तनकै एजेन्डा बोकेका कारण प्रकाशमानको टिममा गएर महामन्त्रीको उम्मेदवार बन्दा उनीमाथि खासै टिकाटिप्पणी थिएन । सभापतिको दोस्रो चरणको निर्वाचनमा जब उनी प्रकाशमान गएको ठाउँमा उभिने प्रण गरे, त्यसपछि भने उनको राजनीतिक एजेन्डा र विचारलाई लिएर सामाजिक सञ्जालमा समेत खिसिट्यूरी सुरु भएको छ । पौडेल समाजको मुद्दा र पार्टी संस्थापनको प्रतिद्वन्द्वी भूमिकाबाटै माथि आएका नेता हुन् । संस्थापनइतर समूहबाट उनले महामन्त्री पाउने सम्भावना कम थियो ।

महाधिवेशन अघिसम्म गगन जहाँ उभिन्छन्, उनी त्यहीँ हुन्थे । जब महाधिवेशन नजिक आयो, महामन्त्रीका लागि छिर्के दाउ हान्न उनले सिटौलालाई साथ छाडेनन् । गगन र प्रदीपको कित्ता अलग—अलग बन्यो ।

गगनले आफ्नो साथ छाड्दा छटपटीमा परेका सिटौलाले उनको विकल्पमा प्रदीपलाई अघि बढाउन खोजे । त्यसको लाभ लिन प्रदीप सिटौला जता उभिन्छन, त्यतै बहने निर्णयमा पुगे । नेतृत्व परिवर्तनका लागि सडकमा चारवर्षदेखि लगाएको नारा महामन्त्रीको उम्मेदवारको पदमा लगेर उनने पनि टुंग्याए ।

कांग्रेस महाधिवेशन

Link copied successfully