महामन्त्रीमा गगन अगाडि, दोस्रो स्थानका लागि विश्वप्रकाश र प्रदीपबीच टक्कर

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ६ सय मत गन्दा गगन थापा ३८९ र विश्वप्रकाश शर्मा २२९ मतसहित अगाडि रहेका छन् । 

प्रदीप पौडेल २०६ मतसहित तेस्रो स्थानमा रहेका छन् । कांग्रेसको विधानअनुसार सबैभन्दा बढी मत ल्याउने २ जना उम्मेदवार महामन्त्रीमा चयन हुनेछन् । यही रुझान अन्तिमसम्म कायम रहे गगन थापा महामन्त्रीमा चयन हुने निश्चितजस्तो देखिन्छ । दोस्रो स्थानमा भने विश्वप्रकाश र प्रदीपबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै प्रकाशशरण महतले १९३ र मीनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully