महामन्त्रीको सुरुवाति मतपरिणाममा थापा र पौडेललाई अग्रता

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो । 

सुरुवाति मतपरिणामअनुसार गगन थापाले  २०० र प्रदीप पौडेल ११० मतसहित अगाडि रहेका छन् । त्यस्तै विश्वप्रकाश शर्मा १०४, प्रकाशशरण महत ९१  र मीनेन्द्र रिजालले ५५ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले ५ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन्  भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए । 

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्  सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully