कांग्रेस सभापतिमा देउवा निर्वाचित

मंसिर २९, २०७८

जयसिंह महरा

काठमाडौँ — कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । हाल पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भएका हुन् ।मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाए । कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ ।

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो । 

यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो । 

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् । 

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । 

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए । 

कांग्रेस महाधिवेशन

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully