शशांकको नाम चारवटै प्यानलमा, निधिको सूचीमा अधिकांश कोइराला प्यानलका
काठमाडौँ — कांग्रेसको नेतृत्व छान्न सोमबार बिहान ८ बजे मतदान सुरु हुने तालिका थियो । महाधिवेशन प्रतिनिधि (मतदाता) ७ बजेदेखि नै लाइन बसिसकेका थिए । तर झन्डै ३ घण्टापछि मात्रै मतदान सुरु भयो । मतदान राति ११ः३० बजेसम्म चल्यो ।
‘म लाइनमै दुई घण्टा बसें, भित्र गएपछि पनि भोट हाल्न ४५ मिनेट लाग्यो,’ जुम्लाका महाधिवेशन प्रतिनिधि गौरीनन्द आचार्यले भने ।
कांग्रेसले कागजी मतदान गराएका कारण आचार्यझैं महाधिवेशन प्रतिनिधिलाई लाइनमा बस्दा र मत हाल्दा घण्टौं लागेको थियो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मतदानमा झन्डै ३५ मिनेट लगाएका थिए । उनी मध्याह्न १२ बजे भृकुटीमण्डपस्थित मतदान केन्द्र पुगेका थिए ।
‘धेरै पदमा मतदान गर्नुपरेकाले समय बढी लागेको हो,’ देउवानिकट पत्रकार बद्री सिग्देलले भने । देउवाले मतदान गरेलगत्तै सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले त्यही केन्द्रमा मतदान गरेका थिए । उनका सहयोगी यूपी लामिछानेका अनुसार सिंहले केन्द्रीय समितिको बुथबाट मतदान गरेका हुन् ।
सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दिउँसो करिब ३ बजे मत हाले । उनले भृकुटीमण्डपस्थित प्रदेश २ को बुथबाट मतदान गरेको उनका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिए । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले भने करिब ४ बजे मतदान गरेका थिए । सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले राति ९ बजे मतदान गरे । मतदानपछि सभापतिका सबै उम्मेदवारले आफूले जित्ने दाबी गरेका थिए ।
मतदान प्रक्रियामा ढिलासुस्ती भएको गुनासो आउन थालेपछि केन्द्रीय निर्वाचन समितिले मतदाता र उम्मेदवार धेरै भएका तर निर्वाचन प्रणाली परम्परागत (कागजी) भएकाले समस्या भएको स्पष्टीकरण दिएको थियो । ‘पार्टीले मानेको भए १० देखि १५ मिनेटसम्ममै मतदान गर्न सकिने गरी
ई–भोटिङ गराउन सक्थ्यौं,’ निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने, ‘मतदान प्रक्रिया ढिलो भए पनि मतगणना छरितो गर्ने हाम्रो प्रयास रहनेछ ।’ एक जना मतदातालाई भोट हाल्न ४५ मिनेटसम्म लागेको उनले बताए ।
उम्मेदवारहरूले मतदानका लागि लाइन लागेका मतदातासँग भेटेरै मत मागेका थिए । प्रधानमन्त्री देउवा मत माग्न मतदान स्थलमा गए पनि सुरक्षाकर्मीबाट घेरिएका थिए । हात जोडेर मत मागिरहँदा समर्थकले उनको पक्षमा नाराबाजी र हुटिङ गरेका थिए ।
कोइराला, निधि, सिंह र गुरुङले कोभिडको प्रवाह नगरी मतदाताको नजिकै पुगेर अंकमालसमेत गर्दै मत मागेका थिए । उनीहरूले मतदान स्थलमा सञ्चारकर्मीमार्फत आफ्ना धारणासमेत राखिरहेका थिए । मतदान गर्न राष्ट्रिय सभागृह पुगेका देउवाको फोटो खिच्न अवरोध भएपछि पत्रकारले केहीबेर क्यामेरा सडकमा राख्दै विरोध जनाएका थिए । विरोधपछि तस्बिर खिच्ने व्यवस्था मिलाइएको थियो ।
महामन्त्रीका उम्मेदवारद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा झैं सडकमा पनि प्रचार आक्रामक थियो । केही युवाले थापा र शर्मालाई संयुक्त रूपमा भोट मागिरहेका थिए । मतदान स्थलमा केही युवा महाधिवेशन प्रतिनिधि पनि आकर्षणको केन्द्र बनेका थिए । तीमध्येकी एक थिइन्– बझाङबाट प्रतिनिधि बनेर आएकी २२ वर्षीया सिर्जना स्नेही । उनीसँग केही उम्मेदवार, महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले सेल्फी खिचेका थिए । ‘यहाँ (काठमाडौं) यति धेरै चर्चा पाउँछु भन्ने लागेकै थिएन । यसले मलाई राजनीतिमा लाग्न थप प्रेरणा मिलेको छ,’ उनले कान्तिपुरसँग भनिन् ।
एक जना मतदाताले २९ मतपत्रमा मतदान गरेका थिए । सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (८) र केन्द्रीय सदस्यतर्फ खुला, महिला, दलित, खस–आर्य, मधेसी, आदिवासी–जनजाति, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक, अपांगता र प्रदेश (७) को फरक–फरक मतपत्र बनाइएको थियो । निर्वाचन समितिले फरक–फरक मतपत्र बनाउँदा मतगणना छरितो हुने जनाएको छ । निर्वाचन समितिका सदस्य सीताराम केसीले सभापतिको निर्क्योल भएपछि मात्र अन्य पदाधिकारी र सदस्यको मत गनिने बताए ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ । सभापतिका उम्मेदवारको मतगणना राष्ट्रिय सभागृहमा र अन्य पदाधिकारी तथा सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालयमा गरिने केसीले जानकारी दिए । सभापतिको निर्वाचन दोस्रो चरणमा गए मंगलबार पुनः मतदान हुनेछ । सभापतिको मतगणना सकिएपछि पदाधिकारी र सदस्यहरूको मत गनिनेछ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए ।
शशांक सबै प्यानलमा, निधिको नयाँ रणनीति
केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बीपी कोइरालापुत्र शशांक कोइरालालाई गुरुङबाहेक चार समूहले आफ्नो प्यानलमा राखेका छन् । कोइरालाले भने मतदान स्थलमा कसैका पक्षमा भोट मागेनन् ।
आइतबारसम्म टिम घोषणा नगरेका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले केन्द्रीय सदस्यमा अन्य प्यानलका उम्मेदवारलाई पनि समेटेका थिए । उनको सूचीमा अधिकांश कोइराला प्यानलका उम्मेदवार छन् । देउवा प्यानलका केही उम्मेदवारलाई पनि उनले समेटेका छन् । उनले आफूसहित विभिन्न पदमा १ सय २१ जनाको सूची तयार पारेका थिए, जसमा सहमहामन्त्रीका उम्मेदवार बनेका कमला पन्त (महिला), रामकृष्ण यादव (मधेसी) र शेख वकिल (मुस्लिम) थिए । देउवा प्यानलबाट प्रदेश २ मा महिला केन्द्रीय सदस्य लडेकी चित्रलेखा यादव, खुला केन्द्रीय सदस्य लडेका पदमनारायण चौधरी, गोविन्द भट्टराईलाई पनि उनले आफ्नो सूचीमा राखेका छन् । आफ्ना मतदाताले देउवा प्यानलका उम्मेदवारलाई भोट दिने सम्भावना देखिएपछि निधिले यस्तो रणनीति लिएको अनुमान गरिएको छ । ‘उम्मेदवार संख्या धेरै हुँदा हाम्रोमा केही मत बढ्ने विश्वास पनि लिएका छौं,’ निधिनिकट एक नेताले भने ।
सभापतिका अर्का उम्मेदवार सिंहले भने शशांकबाहेक अर्को प्यानलका उम्मेदवारलाई राखेका छैनन् । उनले आफूसहित ६५ जनाको सूची बनाएर बाँडेका थिए ।
महाधिवेशन प्रतिनिधिको चासो
मतदान स्थलमा भेटिएका धेरेको चासो सभापतिको परिणाम के हुन्छ भन्नेमा देखिन्थ्यो । उनीहरू देउवाले पहिलो चरणमै जिन्छन् कि दोस्रो चरणमा जान्छ भनेर आकलन गरिरहेका थिए । निधि र सिंहले देउवा समूहको भोट धेरै काटे पहिलो चरणमा कसैको पनि ५० प्रतिशत नपुग्ने अधिकांश प्रतिनिधिको भनाइ थियो । ‘दोस्रो चरणमा गएपछि तीन जना (कोइराला, निधि र सिंह) बीच कस्तो समीकरण हुन्छ, त्यसले धेरै हदसम्म परिणाम प्रभावित गर्नेछ,’ लुम्बिनीका महाधिवेशन प्रतिनिधि लक्ष्मण यादवले भने, ‘यस्तो अवस्थामा देउवाले कस्तो रणनीति बनाउँछन्, त्यो पनि रोचक हुनेछ ।’
हाधिवेशन प्रतिनिधिबीच सभापतिपछि चासो महामन्त्रीमा केन्द्रित थियो । विशेष गरी २ महामन्त्रीका लागि युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल भिडेकाले विभिन्न कोणबाट सम्भावित परिणामबारे अड्कलबाजी भएको थियो । ‘विश्वप्रकाशको नाम सिंहको प्यानलमा भए पनि उहाँ एक किसिमले स्वतन्त्र हैसियतमा मत माग्दै हिँड्नुभएको छ । उहाँले देउवा र कोइराला समूहबाट कति मत तान्नुहुन्छ भन्नेले अर्थ राख्छ,’ दैलेखका प्रदेश प्रतिनिधि सुवर्ण शाही भन्दै थिए, ‘माहोल हेर्दा कम्तीमा एक जना युवा महामन्त्रीमा आउनेमा कुनै शंका छैन ।’
सभापतिबाहेकका प्रमुख पदाधिकारीमा अधिकांश युवा उम्मेदवार भएकाले महाधिवेशन प्रतिनिधिहरू उत्साही देखिन्थे । केन्द्रीय नेतृत्वदायी पदमा युवा पुग्दा पार्टी गतिशील बन्ने उनीहरूको भनाइ थियो । बझाङकी महाधिवेशन प्रतिनिधि स्नेहीले यसपटकको महाधिवेशनले युवालाई नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् । ‘विभिन्न गुट–उपगुटमा भएकाले प्रतिस्पर्धाले केही खिन्न बनाएको छ,’ उनले भनिन्, ‘तर उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदमा युवा प्रतिस्पर्धामा उत्रिँदा राम्रो संकेत र सन्देश प्रवाह भएको छ ।’ महाधिवेशन सम्पन्न भएपछि पार्टीले नयाँ गति लिने उनले बताइन् ।
मतपत्र सकिँदा ३ पटक रोकियो
राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान भइरहेका बेला मतपत्र सकिँदा केहीबेर प्रक्रिया रोकिएको थियो । मतपत्र छपाइमा ढिलाइ हुँदा पहिलोपटक पौने ५ बजे र त्यसपछि दुईपटक मतदान रोकियो । निर्वाचन समितिका सदस्य सीताराम केसीका अनुसार छापाखानाले १२ घण्टाभित्र मतपत्र छापेर दिने प्रतिबद्धता जनाएको थियो । त्यही हिसाबले निर्वाचन समितिले आइतबार बेलुकी ५ बजे मतपत्र डिजाइन गरेर छाप्न दिएको थियो ।
‘हामीले समयमै मतपत्र छाप्न दिए पनि प्रेसले ढिलो गर्दा समस्या देखियो,’ उनले भने, ‘प्रेसबाट मतपत्र ल्याउँदै मतदान प्रक्रिया अगाडि बढाउनु पर्यो ।’ मतपत्र धेरै हुँदा पनि छपाइमा ढिलाइ भएको हुन सक्ने उनले बताए । निर्वाचन समितिले करिब ५ हजारका दरले २९ प्रकारका मतपत्र छापेको थियो । मतदान र मतगणना प्रक्रिया छरितो होस् भनेर सबै पद र क्लस्टरको फरक–फरक मतपत्र छापिएको उनले बताए ।
