दुई हजार मत गन्दा कसैले कटाएनन् ५० प्रतिशत

मंसिर २८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको सभापतिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना भइरहेको छ ।सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । 

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । 

महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म २००६ मत गणना भएको छ । 

अहिलेसम्मको गणनाअनुसार देउवाले ९५८, कोइरालाले ७२६, सिंहले १५३, निधिले ११७ र गुरुङले ६ मत प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेका देउवा र कोइरालाबीचको मतान्तर २३२ छ । 

देउवाले अहिलेसम्म ४७.७ प्रतिशत र कोइरालाले ३६.१९ प्रतिशत मत पाएका छन् । त्यस्तै, सिंहले ७.६२, निधि ५.८ र गुरुङले ०.३५ प्रतिशत मत पाएका छन् । 

कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully