काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा घोषणा सभा गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् ।
संस्थापन इतर समूहबाट साझा उम्मेदवार उठाउने प्रयास भए पनि सिंहले टिमसहित नै उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले सभामा आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्नेछन् ।
सिंहको प्यानलबाटै पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । शनिबार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी गरेका छन् ।
