काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताएका छन् । उनले राजतन्त्र फिर्ता गराउने शक्तिको सल्बलाहटतर्फ संकेत गर्दै उनले प्रतिगामी तत्वलाई टाउको उठाउने दुस्साहस नगर्ने चेतावनी दिए ।
‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिइरहेको छ । म सावधान भन्न चाहन्छु । प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु । फेरि टाउको उठाउने दुस्साहस नगर्नुहोस् । अब नदीको प्रवाह अघि बढिसकेको छ त्यो फेरि पछाडि जाँदैन’ कांग्रेसको १४ औं महाधिवेशनमा शुभाकामना सन्देश दिँदै भने,‘नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । नेपाली जनता फेरि ज्वालामुखी भई मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा आउँछन् ।’
उनले पूर्वराजातर्फ संकेत गर्दै पार्टी खोल्न र व्यापार गर्न सुझाव दिए । ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ । व्यापार गरे हुन्छ । वंशको शासन स्वीकार्य छैन । राष्ट्रियताको रक्षा जनताले गर्न सक्दछौं । सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ’, उनले भने ।
उनले राजनीतिमा मैमत्त हुने एक अर्कालाई सम्मान नगर्ने प्रवृत्ति हुर्किएको बताए । ‘विकृतिहरूलाई हामीले पन्छाउनुपर्छ । नेपालको राजनीतिमा मैमत्त हुने, सम्मान नगर्न प्रवृत्ति छ’, उनले भने । अध्यक्ष नेपालले धेरै गफ गरेको तर त्यसअनुसार काम गर्न नसकेको पनि बताए । ‘हामीले गफ धेरै गरेका छौं, काम कम गरेका छौं । जनताका गुनासाहरू के छन् ? जनता किन विरक्तिँदैछन् ? यसको छानबिन अध्ययन गरेर अघि बढ्न सक्यौं भने नेपालको विकासको विशाल सम्भावना छ’, उनले भने ।
