विराटनगरमै भएर पनि सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसीले भोट हालेनन् । प्रवक्ता विश्वप्रकाश शर्मा भने प्रदेश अधिवेशनमा नै सहभागी भएनन् ।
काठमाडौं, विराटनगर — कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ । सभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् । थापा ८४४ मत पाएर विजयी भए । पराजित घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको बाहिरिएको हो ।
सभापतिका उम्मेदवार घिमिरे केन्द्रीय सभापतिका आकांक्षी नेता शेखर कोइरालाका विश्वासपात्र हुन् । तर, कोइराला विराटनगरै भए पनि घिमिरेलाई मतदान गरेनन् । कोइरालासँगै नेताहरू बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले पनि भोट हालेनन् । पार्टीका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मा त प्रदेश अधिवेशनमा सहभागी नै भएनन् ।
संस्थापनइतर समूहका घिमिरे सभापतिमा २ भोटले पराजित भएपछि त्यही समूहका नेताहरू नै मतदानमा सहभागी नभएको खुलेको हो ।
रक्षामन्त्री मिनेन्द्र रिजाल, नेता कृष्णप्रसाद सिटौला र मीन विश्वकर्मा लगायतले भने मतदान गरेका थिए । नेता बलबहादुर केसीले आफूहरूले मतदान नगरेको पुष्टि गरे । ‘हामीले केन्द्रीय निर्वाचन समितिमा सोधेका थियौँ । संयोजक गोपालकृष्ण घिमिरेले तपाईहरूले भोट हाल्न पाउनुहुन्नँ भन्नुभयो । त्यहीआधारमा हामी केन्द्रमा उम्मेदवारी दिने तयारी गरेकाहरूले मतदान गरेनौं,’ केसीले भने, ‘केन्द्रमा उम्मेदवार हुनले मतदान गर्न पाइन्छ कि पाइदैन ? भनेर हामीले सोधेका हौं, गोपालकृष्णजीले तपाईंहरू सहभागी नहुनुस् भनेपछि हामी सहभागी भएनौं । अहिले हाम्रो उम्मेदवार २ भोटले पराजित भयो ।
नेता शेखर कोइरालाले भने निर्वाचन समितिले अस्पष्ट जवाफ दिएका कारण आफूले मतदानमा सहभागी नभएको बताएका छन् । ‘केन्द्रको उम्मेदवारले मतदान गर्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको थियो । निर्वाचन समितिलाई सोध्दा स्पष्ट जवाफ आएन,’ कोइरालानिकट स्रोत भन्छ, ‘त्यसैले उहाँले मतदान गर्नुभएन ।’ प्रदेश र जिल्लाको अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छैनन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गण्डकी प्रदेश अधिवेशनमा मतदानमा सहभागी भएका थिए ।
नेताहरूले केन्द्रीय निर्वाचन समितिले गलत सञ्चार गर्दा आफूहरू मतदानमा सहभागी नभएको दाबी गरेका छन् । तर, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भने आफूले त्यस्तो सञ्चार नगरेको दाबी गरे । उनकाअनुसार केन्द्रीय सदस्य वा पदाधिकारीलाई मतदानमा सहभागी हुन कुनै रोकावट छैन । ‘विधानको धारा १३ (१) (ग) अनुसार उहाँले प्रदेश अधिवेशनमा भोटिङ गर्न पाउनुहुन्छ । मैले मसँग कुराकानी गर्ने सबैलाई यो सञ्चार गरेको छु,’ संयोजक घिमिरेले इकान्तिपुरसँग भने ।
कांग्रेसको विधानमा उल्लेखित प्रदेश अधिवेशन सम्बन्धी व्यवस्था ।
उनले आफूले कसैलाई पनि त्यसरी सहभागी हुनुहुँदैन भनेर नभनेको दाबी गरे । ‘मलाई कसले फोन गर्यो, गरेन भनेर ख्याल छैन । तर, मैले कसैलाई पनि त्यस्तो गलत सन्देश दिएको छैन,’ घिमिरेले भने ।
प्रदेश सभापतिमा पराजित नेता घिमिरेले भने पुन: मत गणनाको माग गरेका छन् । उनले प्रदेश निर्वाचन समितिलाई निवेदन दिइसकेका छन् । तर, समितिले केन्द्रीय निर्वाचन समितिले त्यो पत्र पठाएको छैन । ‘हामीले यहाँ निवेदन बुझेका छौं । यसलाई केन्द्रीय निर्वाचन समितिमा पठाउँछौं। माथिबाट जे निर्णय हुन्छ, हामीले त्यहीअनुसार गर्ने हो,’ प्रदेश निर्वाचन अधिकृत भरतबहादुर थापाले कान्तिपुरसँग भनेका छन् ।
घिमिरेले पुन: मत गणनाको माग गरेपछि प्रदेश निर्वाचन समितिले नतिजा घोषणा भने गरेको छैन ।
केन्द्रीय निर्वाचन समितिका संयोजक घिमिरेले पुन: मत गणनाको मागबारे आफूहरूलाई जानकारी नआएको बताए । ‘निवेदन हामी कहाँ आइपुगेको छैन । आइपुगेपछि मात्रै त्यसबारे छलफल हुन्छ,’ उनले भने ।
सभापति बाहेका पदकाे परिणाम घाेषणा गरेको छ । प्रदेश उपसभापतिमा देउवा–सिटौला समूहका रमेशजंग रायमाझी ८ सय ९० र टंकप्रसाद राई ८ सय ४७ मत ल्याएर विजयी भएका छन् । रायमाझी राष्ट्रिय सभा सदस्य तथा राई पूर्वसांसद हुन् । उपसभापतिमा कोइराला समुहका गोविन्द ढुंगानाले ७ सय ६५ र विश्वनाथ रिजालले ६ सय ९९ मत पाए ।
त्यस्तै, महामन्त्रीमा कोइराला समूहका उमेश थापाले ८ सय २३ र देउवा–सिटौला समूहका भुपेन्द्र राई ८ सय २४ मत ल्याएर विजयी भएका छन् । महामन्त्रीमा कोइराला समूहका दिपनकुमार श्रेष्ठले ७ सय ६४ र सिटौला–देउवा पक्षका पदम पालुवाङले ८ सय ७ मत ल्याएर पराजित भए ।
महिला सहमहामन्त्रीमा देउवा–सिटौला पक्षकी प्रमिला गच्छदार ८ सय ३७ मत ल्याएर विजयी हुँदा कोइराला समूहकी सीता कार्कीेले ७ सय ३७ मत पाइन् । सहमहामन्त्री पुरुषमा देउवा–सिटौला समूहका खड्ग फागो १ हजार २६ र विनोदकुमार बस्नेत ७ सय ४७ मत ल्याएर विजयी हुँदा कोइराला पक्षका रोहितकुमार साहले ६ सय ६५ तथा वीरकाजी राईले ६ सय ४७ मत ल्याए । विजयी फागो मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख हुन् ।
