२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
कांग्रेस महाधिवेशन

आकांक्षी धेरै भएपछि प्रदेशकै नेताहरूलाई दियो पौडेल पक्षले उम्मेदवार छान्ने अधिकार

काठमाडौँ — कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सातै प्रदेशमा उम्मेदवार छान्नका लागि सम्बन्धित प्रदेशका नेताहरूलाई जिम्मेवारी दिएको छ । बुधबार बिहान महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले सातै प्रदेशमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्ने प्रयास गरे पनि आकांक्षी धेरै भएपछि निर्णय गरेको छैन ।

आकांक्षी धेरै भएपछि प्रदेशकै नेताहरूलाई दियो पौडेल पक्षले उम्मेदवार छान्ने अधिकार

उम्मेदवारहरूका विषयमा छलफल भए पनि त्यसको अन्तिम टुंगो लगाउने गरी सम्बन्धित प्रदेशका नेताहरूबीच जिम्मेवारी बाँडफाँड भएको हो ।

‘सबै प्रदेशमा सर्वसम्मत रुपमा उम्मेदवार छान्ने प्रयास गरिरहेका छौँ । आकांक्षी साथीहरू धेरै जना हुनुहुन्छ । सबैलाई समेटेर अघि बढ्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ भन्ने नै हो,’ नेता अर्जुननरसिंह केसीले इकान्तिपुरसँग भने, ‘सर्वसम्मत हुन नसकेको अवस्थामा सम्बन्धित प्रदेशका नेताहरूले छलफल गरेर उम्मेदवारको टुंगो लगाउने निर्णय भएको छ ।’ प्रदेश महाधिवेशनमा सहभागी हुन नेताहरू बुधबार आ–आफ्नो प्रदेशतर्फ जाँदैछन् ।

नेता केसीका अनुसार उम्मेदवार छान्नका लागि प्रदेश १ मा बलबहादुर केसी नेतृत्वमा केन्द्रीय सदस्यहरू महेश आचार्य, मिनेन्द्र रिजाल, शेखर कोइराला, सरिता प्रसाईं र गुरुराज घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ मा कोषाध्यक्ष सीतादेवी यादवको नेतृत्वमा रामकृष्ण यादव र किरण यादव तथा वाग्मती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियारलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्यहरू दीपक गिरी र चन्द्र भण्डारी, कर्णाली प्रदेशमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई उम्मेदवार छान्ने अधिकार दिइएको छ ।

कांग्रेसको प्रदेश महाधिवेशन बिहीबारदेखि सुरू हुँदैछ । शुक्रबार उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । सभापति शेरबहादुर देउवाले यसअघि नै सातै प्रदेशमा उम्मेदवार छनाैट र प्रतिस्पर्धाका लागि आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिइसकेका छन् ।

प्रदेश १ को विराटनगर, २ को जनकपुर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा बिहीबार एकैदिन प्रदेश महाधिवेशन सुरू हुँदैछ । कांग्रेसले यो महाधिवेशनबाट पहिलो पटक प्रदेशस्तरीय नेतृत्व चयन गर्न लागेको हो ।

प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा प्रदेश महाधिवेशनमा आयोजक समिति बनेका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?