कांग्रेस धनकुटा सभापतिमा राई

मंसिर १५, २०७८

रमेशचन्द्र अधिकारी

धनकुटा — कांग्रेस धनकुटाको जिल्ला सभापतिमा संस्थापन पक्षका दिनेश राई निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा ४२ वर्षीय राईले सभापतिका अर्का उम्मेद्‍वार कमोटकुमार फागोलाई ३४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मंगलबार सम्पन्न निर्वाचनमा खसेको कुल १०१३ मतमा राईले ५०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, फागोले ४७० मत प्राप्त गरेका छन् । यसअघिको नेतृत्वमा कांग्रेस जिल्ला कोषाध्यक्ष रहेका विजेता राई देउवा पक्षका हुन् भने फागो पौडेल पक्षका हुन् । 

यसैगरी, उपभापतिमा सुनिल डंगोल र निर्मल ओझा निर्वाचित भएका छन् । सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ, सहसचिवमा रोशन श्रेष्ठ र गिरिजा दाहालले जित हात पारेको जनाइएको छ ।  

निर्वाचनमा देउवा र पौडेल पक्षले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । महाधिवेशन प्रतिनिधिको मतगणना कार्य भने जारी छ । 

कांग्रेस महाधिवेशन

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully