कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानेपामा सुल्झियो सर्लाही कांग्रेसको विवाद

सर्लाही — गुटगत राजनीतिले तनाव हुँदा रोकिएको सर्लाही कांग्रेसको अधिवेशन हुने भएको छ । विवाद समाधान भएसँगै जिल्लामा निर्वाचन गराउनका लागि केन्द्रले तेस्रोपटक निर्वाचन अधिकृत खटाइसकेको छ । केन्द्रीय निर्वाचन समितिले पार्टी कार्यालयमा जिल्लाका दुवै पक्षलाई राखेर वार्ता गराएपछि दुवै पक्ष निर्वाचनमा जान सहमत भएको हो ।

सानेपामा सुल्झियो सर्लाही कांग्रेसको विवाद

केन्द्रले दुवै पक्षलाई चार दिनसम्म वार्ता र छलफल गराएपछि मंगलबार मात्र सहमति भएको थियो । सहमति भएसँगै केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृतका रूपमा भरत राउतलाई खटाइसकेको छ ।

जिल्ला सभापति नागेन्द्रकुमार राय तथा पूर्वसभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटनपटन तथा जिल्ला निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा वडा तहको अधिवेशन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । विवादकै कारण यसअघि खटिएका निर्वाचन अधिकृतद्वय विनोद कार्की र दिवाकर पाण्डेले जिल्ला अधिवेशन गराउन सकेनन् ।

कात्तिक २६ का लागि तोकिएको निर्वाचन कार्कीले राजीनामा बुझाएपछि हुन सकेको थिएन । दोस्रोपटक निर्वाचनका लागि खटिएका दिवाकर पाण्डेमाथि कुटपिट भएपछि राजीनामा बुझाए । जसका कारण गत बिहीबारका लागि तोकिएको निर्वाचन पनि ओझेलमा पर्‍यो ।

जिल्ला अधिवेशन नहुँदा महाधिवेशनमा सर्लाहीको सहभागिता नहुने भएपछि केन्द्रीय निर्वाचन समितिले जिल्लाका दुवै पक्षका नेतालाई राखेर सहमति गराएको हो । २ सय वडा रहेको जिल्लाको वडा तहको निर्वाचनका लागि २ सय २० शिक्षक चुनिसकिएको छ । निर्वाचन सचिवालय चलाउनका लागि अधिकृत राउतले आफ्ना सहयोगीका रूपमा केन्द्रबाटै वकिलहरू ल्याउने बताइएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?