साझा उम्मेदवार बन्‍न थापाको कसरत

सिटौलालाई पनि ‘एन्टी–देउवा क्याम्पियन’ मा ल्याउने प्रयास

कार्तिक २७, २०७८

कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन थापा यसपटक सोही पदमा उम्मेदवारी घोषणा गरेपछि आफूलाई केन्द्रमा राखेर टिम निर्माणमा सक्रिय छन् ।

सभापति शेरबहादुर देउवाविरुद्ध एउटै सशक्त टिम बनाउन उनले कसरत गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूहका नेताबीच संवाद गर्दै आएका उनले पछिल्लो समय सिटौलालाई पनि ‘एन्टी–देउवा क्याम्पियन’ मा सरिक हुन प्रेरित गरिरहेका छन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले कात्तिक १३ मा आयोजना गरेको चियापान कार्यक्रममा थापाले कांग्रेसमा नेतृत्व परिवर्तन गर्ने अभियानको अगुवाइ सिटौलाले गर्नुपर्ने बताएका थिए । १३ औं महाधिवेशनमा सिटौला समूहबाट कोषाध्यक्षमा लडेका चौधरीले चियापानमा सिटौला, थापा, धना खतिवडालगायत नेतालाई बोलाएका थिए । ‘स्वाभाविक रूपमा पदाधिकारी लड्न चाहने हरेकले बलियो टिमबाटै प्रतिस्पर्धा गर्न चाहन्छ,’ कान्तिपुरसित थापाले भने, ‘म पनि सभापतिका आकांक्षी नेताहरूलाई एक बनाएर आफू महामन्त्रीको उम्मेदवार बन्ने कोसिस गरिरहेको छु ।’

१३ औं महाधिवेशनमा पौडेलले नेतृत्व गरेको समूहमा रहेका आधा दर्जन नेता १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी छन् । देउवा समूहका उपसभापति विमलेन्द्र निधि र सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला पनि नेतृत्वका आकांक्षी छन् । नेता थापाले आफूले पौडेल र सिटौलाबीच पनि संवादको प्रयास गरेको बताए । ‘मैले दुवै नेता (पौडेल र सिटौला) लाई नेतृत्व परिवर्तनका लागि एकआपसमा बसेर छलफल गर्नुहोस् भनिरहेको छु,’ उनले भने, ‘उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ, सम्भवत: जिल्ला अधिवेशन सकिएपछि छलफलले ठोस गति लग्ला ।’

विद्यार्थी राजनीतिबाट उदाएका थापा परिस्थितिको विश्लेषण गरी आफूलाई त्यसअनुरूप ढाल्ने क्षमता राख्ने नेतामा पर्छन् । पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका उनी १३ औं महाधिवेशनमा देउवा र पौडेल समूहबाट मौका नपाएपछि सिटौला टिमबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । सिटौलाको साथ पाएर उनी २०७३ मा स्वास्थ्यमन्त्री बने । उनीनिकटका अनुसार पछिल्लो समय उनले सभापतिका लागि सिटौलाभन्दा शेखर कोइरालालाई प्रोत्साहन गरेका थिए । ‘सिटौलासँग टाढिँदै गएपछि उहाँले शेखरको नेतृत्वमा सशक्त टिम बनाउने अभियान थाल्नुभएको थियो,’ उनीनिकट एक नेताले भने, ‘तर अहिले शेखरसहित अन्य नेतालाई पनि एक ठाउँमा ल्याउने प्रयास गरिरहनुभएको छ ।’

थापाले आफ्नो अवस्था मजबुत बनाउन उत्तिकै चातुर्य पनि देखाएका छन् । पछिल्लो समय ‘एन्टी–देउवा’ समूह निर्माण गर्ने अभियानको अगुवाइ सिटौलाले गर्नुपर्ने धारणा राखेका उनले काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका अन्य नगर अधिवेशनमा भने प्रकाशमान सिंहसँग समीकरण गरे । जब कि काठमाडौंमा सिंह र सिटौलापक्षीय नेता भीमसेनदास प्रधान समूहबीच मुख्य प्रतिस्पर्धा थियो । काठमाडौंका एक कांग्रेस नेताका अनुसार थापा र सिंहबीच काठमाडौं जिल्ला अधिवेशनसम्म समीकरण कायम राख्ने सहमति भएको छ ।

आफूलाई केन्द्रमा राखेर रणनीति बनाउने थापाको स्वभाव विद्यार्थी राजनीतिदेखिकै हो । २०५३ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा नेविसंघले टिकट नदिएपछि उनले हरि आचार्यको नेतृत्वमा स्वतन्त्र समूह बनाएर सचिवमा भिडेका थिए । स्वतन्त्रबाट सचिव जितेका उनले २ वर्षपछिको स्ववियु निर्वाचनमा भने सभापतिको आधिकारिक उम्मेदवार भएर चुनाव जिते । थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेल सभापतिका आकांक्षी नेताहरूका लागि महामन्त्रीमा उनको स्वीकार्यता देखिए पनि थापाले भने कसको टिमबाट चुनावमा जाने भन्ने सोचिनसकेको बताउँछन् । ‘अहिले उहाँ देउवाबाहेक सशक्त समूह निर्माणको अभियानमा हुनुहुन्छ, त्यो सम्भव भएन र एक जनाभन्दा बढी उम्मेदवार हुनुभयो भने बल्ल कसको टिममा बस्ने भन्ने निर्णय गर्नुहुन्छ होला,’ उनले भने ।

देउवाइतर समूहबाट सभापतिको एउटै उम्मेदवार तय हुन भने निकै बाधा देखिन्छ । देउवाबाट अलग्गिएका निधि र पार्टीभित्र तेस्रो समूह निर्माण गरेका सिटौलाले पौडेल समूहका नेतालाई सभापतिमा स्विकार्ने सम्भावना निकै कम छ । पौडेल समूहभित्रै पनि शेखर, शशांक कोइराला र सिंहको दाबेदारी छ । त्यसो त थापा स्वयंलाई पनि सभापतिको साझा उम्मेदवार बनाउन सकिन्छ भन्ने पूर्ण आत्मविश्वास छैन । उनी यही अभियानमार्फत कमसेकम आफू महामन्त्रीको साझा उम्मेदवार बन्ने दाउमा छन् । ‘अहिलेको अवस्थामा सभापतिका आकांक्षीहरूमा गगनलाई आफ्नो टिममा ल्याउन सकियो भने बलियो बनिन्छ भन्ने मनोविज्ञान देखिन्छ,’ उनीनिकट एक नेताले भने, ‘यसले गर्दा भोलि उहाँ एकभन्दा बढी समूहको लिस्टमा पर्ने सम्भावना पनि उत्तिकै छ ।’

२०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा सिटौलाको समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्दा उनले ५ सय ८४ मत ल्याएका थिए । सभापतिका उम्मेदवार सिटौलाले भने ३ सय २४ मत ल्याएका थिए । उति बेला पाएको सम्मानजनक मतका कारण अहिले उनको उम्मेदवारी स्वाभाविक रूपमा बलियो बनेको छ । तर महाधिवेशनसम्म पुग्दा कांग्रेसमा चुनावी समीकरण उथलपुथल हुने सम्भावना पनि छ । कांग्रेसका गुटहरू केन्द्रदेखि स्थानीय तहसम्मै पुगेका छन् । गुटगत प्रतिस्पर्धाबाट आउने महाधिवेशन प्रतिनिधिले आफ्नो गुटको उम्मेदवारलाई प्राथमिकतामा राख्ने गर्छन् ।

देउवा समूहबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी सावद, विश्वप्रकाश शर्मालगायतले महामन्त्रीमा आकांक्षा राखेका छन् । पौडेल समूहबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, महेश आचार्य, बलबहादुर केसी, चन्द्र भण्डारी र सिटौला समूहबाट प्रदीप पौडेल महामन्त्रीका आकांक्षी छन् । यसपटक महाधिवेशनबाट दुई महामन्त्री निर्वाचित हुनेछन् । त्यसैले थापासहितका युवा नेता उत्साही देखिन्छन् । थापा भने मंसिर २३ गतेसम्म भए पनि देउवाइतर समूहबाट सभापतिको उम्मेदवार एक जना मात्र हुने आशामा छन् । ‘अहिले साझा उम्मेदवार बनाउन विभिन्न चरणमा छलफल भइरहेको छ,’ थापाले भने, ‘महाधिवेशनको अघिल्लो दिन (मंसिर २३) मा पत्रकार सम्मेलन गरेर त्यसको निर्णय सुनाउँछौं ।’

कांग्रेस महाधिवेशन

कलेन्द्र

Link copied successfully