प्रधानन्यायाधीश जबराले आफूलाई पनि इजलास तोकेपछि न्यायाधीशहरू सामूहिक छलफलमा

कार्तिक २२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशहरू सामूहिक छलफलमा जुटेका छन् । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई पनि इजलास तोकेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीश जबराले पूर्व समझदारीविपरीत आफूलाई पनि पेसी तोकेकझ अवस्थामा के गर्ने भन्नेबारे छललफल गर्न न्यायाधीशहरू सामूहिक छलफलमा बसेका हुन् ।

प्रधानन्यायाधीश जबराले सोमबार आफूसहित ६ वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले कात्तिक ८ गतेयता आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए । सोमबारका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् । त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको छ । त्यस्तै न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास तोकिएको छ ।

सोमबार कुमार चुडालबाहेकका न्यायाधीश इजलासमा बसेका छैनन् । चुडालले एकल इजलासबाट एउटा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरी कारण देखाउ आदेश जारी गरेका छन् । उनको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग संयुक्त इजलासमा पनि पेसी तोकिएको छ ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले पनि लगातार आन्दोलन गर्दै आएको छ । बार एसोसिएसनको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् ।

प्रधानन्यायाधीश विवादमा

कान्तिपुर

Link copied successfully