मुलुकभरका अदालत एक दिन ठप्प पार्न बार इकाईहरुको सुझाव
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका अदालत एक दिन ठप्प पार्नुपर्नेसम्मका सुझाव इकाई पदाधिकारीले दिएका छन् । जबराको राजीनामाबाहेकमा सम्झौता नगर्न उनीहरूले खबरदारी पनि गरेका छन् ।
बारले गत बुधबारसम्म दिइएको ‘अल्टिमेटम’ मा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलन कसरी अगाडि बढाउने भनेर इकाई पदाधिकारीहरूसँग छलफल गरिरहेको छ । बार महासचिव लीलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ पदाधिकारीको सुझाव लिइएको छ । सोमबार पनि इकाई पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले पहिलो दिनको छलफलमा इकाईका पदाधिकारीहरूले संघर्षलाई थप कडा बनाउन सुझाव दिएको जानकारी दिए ।
‘नेपाल बारको माग र अडानमा इकाई पदाधिकारीहरूले समर्थन जनाउनुभएको छ । उहाँहरू आन्दोलनमा सहभागी हुन तयार हुनुहुन्छ । बारका इकाई पदाधिकारीहरूको सुझाव लिइसकेपछि संघर्षका थप कार्यक्रम ल्याउँछौं,’ उनले भने । बार अध्यक्ष श्रेष्ठले न्यायालयमा देखिएको पछिल्लो विवादका सम्बन्धमा राजनीतिक दलहरूसँग भने कुनै कुराकानी नभएको र प्रधानन्यायाधीश जबराले समेत छलफल नगरेको बताए ।
पौडेलका अनुसार इकाई पदाधिकारीहरूले प्रधानन्यायाधीशबाट राजीनामा नगरेसम्म आन्दोलन गर्न सुझाव दिएका छन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराको राजीनामाको विकल्प नभएको उनीहरूको भनाइ छ । ‘आन्दोलन फराकिलो पारौं । प्रधानन्यायाधीशको इजलासमा बहस गर्नुहुन्न भन्ने सुझाव आएका छन्,’ पौडेलले भने, ‘इकाईका अधिकारीले सम्झौता नगर्न भन्नुभएको छ । अब प्रधानन्यायाधीशलाई तपाईंको फैसलामा विश्वास रहेन भन्नुपर्ने उहाँहरूको सुझाव थियो । उहाँको इजलासमा बहस पनि नगर्नॅस् भन्नुभयो ।’
प्रधानन्यायाधीशको राजीनामाको माग राखेर कुनै एक दिन मुलुकभरका अदालत ठप्प पार्न तयार रहेको इकाई पदाधिकारीहरूको भनाइ रहेको पौडेलले बताए । दिनदिनै ठप्प पार्दा समस्या हुने भएकाले कुनै एक दिन सबै अदालत ठप्प पार्ने र बाँकी दिन निश्चित समय विरोध गर्ने कार्यक्रम ल्याउन सुझाव आएको उनको भनाइ थियो । ‘न्यायालयका उपभोक्ताको हित पनि हेर्दै आन्दोलनलाई विस्तार गर्नुपर्ने सुझाव आएको छ,’ पौडेलले भने ।
अध्यक्ष श्रेष्ठले बार प्रधानन्यायाधीशको राजीनामाको मागभन्दा तल नजाने दाबी गरे । ‘न्यायालयको सुधारको पहल नभएसम्म आन्दोलन रोकिनेवाला छैन । अहिलेको विवादको निकास प्रधानन्यायाधीशको राजीनामा नै हो । समस्या समाधानको बोतलमा प्रधानन्यायाधीश बिर्को भएका छन् । त्यो बिर्को खोर्ल्नैपर्ने भएको छ,’ उनले भने । बारका देशभर ९० इकाई छन् ।
महासचिव पौडेलले सोमबारबाट पनि पहिलेजस्तै बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ नहुने र प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने कार्यक्रम रहेको जानकारी दिए । बिहान साढे १० देखि साढे ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा विरोध गर्ने कार्यक्रमलाई सोमबार पनि बारले जारी राख्ने जनाएको छ । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा न्यायिक विचलन ल्याएको, न्यायको मूल्यमा सौदाबाजी गरेको, न्यायमा अवरोध गरेको र न्याय प्रशासनमा खेलबाड गरेको भन्दै बारले उनको राजीनामा मागेको हो ।
राजीनामाका लागि सर्वोच्च बारले औंल्याएका ९ कारण
