कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६
विवादमा प्रधानन्यायाधीश

न्यायाधीशहरू इजलास छोडेर छलफलमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुलकोर्टको बैठक बहिष्कार गर्ने निर्णय गरेका मध्ये १३ जना न्यायाधीशलाई सोमबार इजलास तोकेका छन् । तर न्यायाधीशहरू इजलासमा नगई अब प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् ।

न्यायाधीशहरू इजलास छोडेर छलफलमा 

१४ जनाले फुलकोर्टको बैठक बहिष्कार गर्ने निर्णय आइतबार गरेका थिए । तीमध्ये नहकुल सुवेदीलाई सोमबारका लागि इजलास तोकिएको छैन । बमकुमार श्रेष्ठलाई एकल इजलास तोकिएको छ । अन्य १२ जना न्यायाधीशलाई संयुक्त इजलास तोकिएको छ ।

इजलास तोकिएका न्यायाधीशहरूमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

सर्वोच्चमा भद्र अवज्ञा

प्रधानन्यायाधीशले आफ्ना लागि पनि इजलास तोकेका छैनन् । शृंखलाबद्ध विवादले घेरिएका प्रधानन्यायाधीश अहिले आफ्नै उद्धारका लागि अन्तिम कसरतमा छन् । दसैं बिदापछि गत बुधबार सर्वोच्च अदालत खुले पनि जबराले आफ्ना लागि अहिलेसम्म इजलास तोकेका छैनन् ।

आइतबार अदालतमा उपस्थित १४ न्यायाधीशलाई आठ इजलास तोकेर उनी बारको टोलीसँग छलफलमा बसेका थिए । उक्त छलफलमा बार पदाधिकारीसँग बरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा कुरा भएको थियो । त्यसपछि सोमबारका लागि बार पदाधिकारीसहित फुलकोर्टको बैठक बोलाउने निर्णय प्रधानन्यायधीश जबराले गरेका थिए । जबराले बारका प्रतिनिधिलाई लोभ्याएर फुलकोर्ट बैठकलाई आफ्नो रक्षाकवचको रुपमा प्रयोग गर्न खोजेपछि १४ न्यायाधिशहरू फुलकोर्ट बहिष्कार गर्ने निर्णयमा पुगेका हुन् ।

पूर्वन्यायाधीश समाजले शुक्रबार नै प्रधानन्यायाधीश जबरालाई निकास दिन र उनले त्यसो नगरेमा महाअभियोग लगाउन संघीय संसद्लाई अपिल गरिसकेको थियो । न्यायालयको प्रतिष्ठा जोगाउने अन्तिम जिम्मेवारी स्वयं न्यायाधीशहरूको भएको भन्दै समाजले वर्तमान प्रधानन्यायाधीशलाई अवज्ञा गर्न सबै तहका न्यायाधीशलाई अपिल गरेको थियो ।

प्रकाशित : कार्तिक ८, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?