सरकारमा हुँदा गरेको कामलाई लिएर जनतामा जान कार्यकर्ताहरूलाई ओलीको निर्देशन

आश्विन १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा असाधारण काम गरेको भन्दै त्यसैलाई लिएर चुनावका लागि जनतामा जान निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षमा भएको भन्दैमा चिन्ता लिन नहुने बताए । 

'संविधान बन्ने बित्तिकै पनि हाम्रो सरकार बनेको थियो । त्यसलाई षड्यन्त्र गरेर ढालियो । हामी प्रतिपक्षीमा पुग्यौं । तर पछिको सरकारमा आयौं,' ओलीले भने, 'अहिले पनि हामी सरकारमा छैनौं । तर सरकारमा हुँदा असाधारण काम गरेका थियौं । त्यही लिएर जनतामा जानुहोस् । चिन्ता लिनुपर्ने केही छैन ।' ओलीले आफ्नो शासनकालमा विकासको भिजन प्रस्तुत गरेको बताए । 

उनले कोभिडको नियन्त्रणमा शून्यबाट तयारी सुरु गरेको र त्यसमा पनि राम्रो काम गरेको दाबी गरे । 'पहिलो संक्रमितको परीक्षण गर्न हङकङ पठाएका थियौं ।' ओलीले राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्त गर्न गतिमा आफ्नो नेतृत्वमा सरकारले द्रुतरत रुपमा काम गरेपनि कोभिडको कारण केही पछि पारेको बताए ।

एमालेको शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले गरेको विभिन्न प्रश्नको जवाफ दिँदै ओलीले असाधारण विकास गरेको दाबी गरेका हुन् ।

एमाले

कान्तिपुर

Link copied successfully