कति बढ्यो लिक्विड अक्सिजन उत्पादन क्षमता ?

भाद्र ४, २०७८

बुनु थारु

काठमाडौँ — मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले लिक्विड अक्सिजन प्लान्ट जडान गर्‍यो । पाँच वर्षअघि नै अक्सिजन प्लान्ट जडान गरेको यस अस्पतालले नयाँ प्लान्ट थपेको हो । अस्पतालकी निर्देशक डा. संगीता मिश्रा भन्छिन्– ‘यो प्लान्ट जडानपछि अब अक्सिजनको लागि अप्ठ्यारो हुँदैन । यसले नै पुग्छ ।’

दोस्रो लहरताका अक्सिजनको हाहाकार देखियो । अक्सिजनको खोजीमा भौंतारिनु पर्दाको क्षण सबैलाई ताजै छ । धेरै कोरोना संक्रमितले अक्सिजन नपाएपछि समयमा उपचार पाएनन् । कतिले अनाहकमा नै ज्यान गुमाउन पर्‍यो । ठूला अस्पतालहरुले अक्सिजन प्लान्ट जडान नगरेकाले पनि यो समस्या चुलिएको थियो । 

मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा ८ उद्योगबाट दैनिक ७ हजार ६५० ठूलो सिलिन्डरमा भर्न पुग्ने अक्सिजन उत्पादन हुन्छ भने उपत्यकाबाहिर करिब १० हजारको हाराहारीमा अक्सिजन सिलिण्डर उत्पादन हुन्छ । 

सरकारले उपत्यकामा १२ वटा अस्पताललाई केन्द्रिय अस्पतालको रुपमा सूचिकृत गरेको छ । कतिपयले लिक्विड अक्सिजन प्लान्ट जडान गरेका छन् भने कसैले पीएसए अक्सिजन प्लान्ट जडान गरेका छन् । समय–समयमा प्लान्ट बिग्रने समस्याले पनि अक्सिजन आपूर्तिमा अप्ठ्यारो हुने गरेको छ । 

उपत्यकाका १४ अस्पतालमा गरेर १५६४ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ भने उपत्यकाबाहिर १८१५ क्षमता रहेको छ । 

उपत्यकामा कुन अस्पतालको अक्सिजन प्लान्टको क्षमता कति ?

निजामति कर्मचारी अस्पताल –५५ 

सहिद गंगालाल अस्पताल –१२० 

नेपाल एपिएफ अस्पताल– १००

नर्भिक अस्पताल –४६

अल्का अस्पताल –४६

काठमाडौं मेडिकल कलेज –१६०

नेपाल प्रहरी अस्पताल –१४०

त्रिवि शिक्षण अस्पताल –४६७ 

मनमोहन कार्डियोभास्कुलर थोरासिक सेन्टर –११०

वीर अस्पताल –१६४ 

हृयाम्स अस्पताल –४२

मनमोहन मेमोरियल अस्पताल –२१

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल –७५

धुलिखेल अस्पताल –६० 

प्रदेश १ का अस्पतालमा दैनिक कुल ७०२ सिलिण्डर उत्पादन गर्ने क्षमता रहेको छ । प्रदेश २ का अस्पतालमा भने ८५ सिलिण्डर मात्रै उत्पादन हुन्छन् । यस्तै काठमाडौ उपत्यका बाहेक वाग्मती प्रदेशका अन्य अस्पतालमा गरेर कुल ३१६ सिलिण्डर भर्न पुग्ने अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट छ । गण्डकी प्रदेशमा २३३, लुम्बिनीमा २८३ र कर्णाली प्रदेशमा ८० सिलिन्डर क्षमताको अक्सिजन उत्पादन हुन्छ । त्यसैगरी सुदूरपश्चिममा यसको क्षमता ११६ छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दैनिक २५ देखि ३० हजार भएको भए दोस्रो लहरको सुरुवाती चरणमा त्यति हाहाकार हुँदैन थियो । डा. अधिकारीका अनुसार त्यसबेला दैनिक २० हजार सिलिण्डर बढी अक्सिजनको माग थियो । तर उत्पादन भने मुस्किलले २० हजार थियो । ‘३० हजार बढी क्षमताको भएमा दोस्रो लहरमा जति गाह्रो भयो त्यति हुँदैन थियो,’ उनले भने, ‘अहिले अक्सिजन उत्पादन क्षमता बढेको छ । साथै जिल्ला जिल्लामा अक्सिजन कन्सनट्रेटर गएको छ । तेस्रो लहर आयो भने पहिला जस्तो गाह्रो नहोला ।’

उनका अनुसार अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेको घटना अहिले कम छ । डा. अधिकारीका अनुसार अहिले पनि धेरै अक्सिजन प्लान्टहरु आयात हुने क्रममा नै छन् । ‘केही अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भएका छन् । केही आउने क्रममा नै छन् । कन्सनट्रेटरहरु आएका छन् । त्यसले पनि राहत दिन्छ होला,’ उनले भने ।

उनका अनुसार देशभरि ४० वटा १०० बेड शय्याका अस्पताल रहेकोमा धेरैजसो अस्पतालले अक्सिजन प्लान्ट जडान गरेका छन् । ‘ठूला अस्पताललाई गर्नुस् भनेर हामीले आग्रह गरेको हो । कतिले बनाइसके त्यसको पूर्ण जानकारी त प्राप्त भएको छैन । तर, जडान भइरहेका छन्,’ उनले भने । 

कोरोना भाइरस

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully