पार्टी एकताका लागि तयार छौं तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

श्रावण २१, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । 

नेपाल नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, 'पार्टी मैले बनाएको हुँ । एजेन्डामा हामीले जितेका छौं । केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो । एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ ।'

बैठकको अध्यक्षता गर्दै नेता नेपालले एजेन्डामा आफूहरुले केपी ओलीलाई जितेको बताएका थिए । 

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीसँग लत्रिएर जानु आवश्यक नभएको बताएका थिए । उनले पनि समान हैसियतमा सहमति हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा केन्द्रीय सदस्यहरुले एकताका लागि हतार गर्न नहुने, ओलीसँग लत्रिन नहुने बताएका थिए । उनीहरुले अहिले ओलीलाई विगतमा गल्ती गरेको महसुस भएको र उनलाई एकता चाहिएको बताएका थिए । उनीहरुले आन्दोलनका उपलब्धि रक्षा गर्न भन्दै नेता नेपाललाई दबाब दिएका छन् ।

शुक्रबारसम्म चल्ने बैठकमा सहभागीहरुलाई ३/३ मिनेट बोल्नका लागि समय छुट्याइएको छ । बिहीबारको बैठकमा ७३ जनाले हस्ताक्षार गरेका छन् ।

एमाले

कान्तिपुर

Link copied successfully