'बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार'


काठमाडौँ — कांग्रेस सांसद गगन थापाले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने र संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । केपी शर्मा ओली सरकारले संसद्, अदालत सबै क्षेत्रलाई पन्छाएर अगाडि बढ्दा बालुवाटारबाट बाहिरिनुपरेको उनले बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले भने, 'बाहिर सिंहजस्तो गर्जने भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।'
थापाले संसद् र सरकारको नयाँ अध्याय सुरु भएको पनि बताए । 'पुन:स्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय सुरु भएको छ । यो अध्यायको सुखान्तको लागि सरकार र संसद्सँग जनताका अपेक्षा छन्,' उनले भने ।
अघिल्लो सरकारले गरेका गल्ती दोहोर्याउने छुट वर्तमान शेरबहादुर देउवाको सरकारलाई नभएको पनि थापाले बताए । 'संसद्लाई हेप्ने, अदालतलाई हप्काउने न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने,' उनले भने, 'नयाँ सरकारलाई यस्तो कुनै कुरा पनि गर्ने छुट छैन । यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ । संसद्लाई न बेवास्ता गर्न दिइनेछ न त कामविहीन बनाउने ! न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ न त छल्न । यो संसद् सरकारसँग डराउने होइन, सरकार यो संसद् र सांसदको प्रश्नसँग संसद्को निगरानीसँग डराउने हो ।'
अहले प्रधानमन्त्रीको मात्रै परीक्षा नभएर सभामुख र सांसद्हरूको पनि सुरु भएको थापाले बताए । जनतामा संविधान र संसद्प्रति गुमेको विश्वास पनि पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो ।
प्रकाशित : श्रावण १२, २०७८ १३:३६