कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको माओवादी केन्द्रको निष्कर्ष, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

माओवादी केन्द्रले कोभिड–१९ नियन्त्रण तथा राहत कोष बनाउने

जेष्ठ ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारले खोप ल्याउन नसकेको, स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको साथै कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

यिनै विषय समेटेर माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेता साहले प्रधानमन्त्रीको समय मिले शुक्रबार नै ज्ञापनपत्र बुझाउने निर्णय भएको बताए ।

यसबाहेक बैठकले कोभिड–१९ नियन्त्रण तथा राहत कोष बनाउने निर्णय पनि गरेको छ । कोषमा पार्टीका नेता तथा कार्यकर्ताले अनिवार्य वा स्वेच्छाले सहयोग गर्ने भन्ने दुईथरी मत नेताहरुबाट आएकाले त्यसबारे अन्तिम टुंगो लगाउन स्थायी कमिटी सदस्य वर्षमान पुनलाई जिम्मा दिइएको साहले बताए ।

उनका अनुसार बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका केन्द्र, प्रदेश र स्थानीय कमिटीलाई कोभिड–१९ नियन्त्रणमा केन्द्रित बनाउने निर्णय पनि गरेको छ । साथै, कोभिड रोकथाम र नियन्यत्रणका लागि सरकारकारले बनाएको संयन्त्र सीसीएमसी संवैधानिक नभएको हुँदा त्यसलाई खारेज गर्न माग गर्ने निर्णय पनि बैठकले गरेको साहले बताए । 

माओवादीले यसअघि नै सर्वपक्षीय संयन्त्र बनाउन माग गरेको थियो । बुधबार र बिहीबार बसेको बैठकले गरेका निर्णय शुक्रबार अध्यक्ष पुष्पकमल दाहालले औपचारिक रुपमा सार्वजनिक गर्ने पनि साहले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully