पूर्वमाओवादी नेतालाई समेटेर नेकपा एमालेद्वारा स्थायी कमिटी गठन- समाचार - कान्तिपुर समाचार

पूर्वमाओवादी नेतालाई समेटेर नेकपा एमालेद्वारा स्थायी कमिटी गठन

खनाल-नेपाल पक्षका भने कुनै नेता परेनन्
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : वैशाख १०, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न महानगरीय प्रहरीलाई आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — उच्च अदालत पाटनले समाचार लेखेकै आधारमा पत्रकारहरूलाई धरपकड नगर्न महानगरीय प्रहरीलाई आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले समाचारको खण्डन गरिसकेको अवस्थामा पत्रकारलाई कानुनविपरीत पक्राउ नगर्न आदेश दिएको हो । 

‘समाचार प्रकाशन गर्ने संस्थासमेतबाट प्रकाशित समाचारको खण्डन गरिसकेको भन्ने हुँदा फौजदारी मुद्दाको अनुसन्धान गर्ने विषयबाहेक समाचार छापेकै आधारमा कानुनविपरीत हुने गरी धरपकड गर्ने काम नगर्नू/नगराउनू,’ आदेशमा भनिएको छ ।

उज्यालो नेटवर्क डटकमले एक विवादास्पद सम्झौता भनिएको कागजात प्रकाशित गरेको थियो । उक्त अनलाइनको दाबीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिङ विङ (रअ)का प्रमुख सामन्त गोयलबीच गत कात्तिकको पहिलो साता भएको भेटमा लिखित सम्झौता नै भएको थियो । अनलाइनले त्यसको अनौपचारिक अनुवाद भनी पत्रसमेत सार्वजनिक गरेको थियो । उसको समाचारलाई केही अनलाइनले पनि पत्रको फोटोसहित सार्वजनिक गरेका थिए ।

पछि त्यो पत्र फर्जी भएको पुष्टि भएपछि प्रकाशित गर्ने अनलाइनहरूले खण्डनसहित क्षमायाचना गरेका थिए । त्यस क्रममा किर्ते कागजात तयार पारेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उज्यालो नेटवर्क डटकमका पत्रकारलाई नियन्त्रणमा लिएर केरकार गर्न खोजेको थियो । समाचारको खण्डन गरिसकेपछि पनि धरपकड गर्न खोजिएको भन्दै उक्त अनलाइनले उच्च अदालत पाटनमा निषेधाज्ञाको मुद्दा हालेको हो । प्रारम्भिक सुनुवाइपछि उच्च अदालतले अन्तरिम आदेश दिएको हो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।



प्रकाशित : वैशाख १०, २०७८ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×