माधव नेपालले इतिहासमा पहिलो पटक अलोकतान्त्रिक र गैरसंसदीय हर्कत गरे: ओली

'केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टास्छौं भन्दै हिँड्ने दाहाल र नेपाललाई नै जनताले धुलो चटाउँछन्'

वैशाख ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासमा माधव नेपालले पहिलो पटक अलोकतान्त्रिक र गैरसंसदीय हर्कत गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकमा ओलीले कर्णालीमा फ्लोर क्रस गर्न लगाएर गैर संसदीय हर्कत गरेको बताएका हुन् । उनले त्यस्तो हर्कत गर्ने र गराउन लगाउनेलाई कारबाही हुने बताए । ‘प्रचण्डको पाउमा एमाले पार्टी चढाउने । कांग्रेस लगायत गैरकम्युनिस्टहरुको नेतृत्वमा सरकार बना‌औं, हामी फ्लोर क्रस गर्नेछौं भन्ने ! यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने, रोदन गर्दै घरदैलो गर्न थालेका छन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अराजक,अस्थिर,अत्यन्त घातक, देशद्रोही, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिको विरुद्ध पार्टीले कडा भन्दा कडा  कारबाही गर्नेछ।’

बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दुईमुखे प्रवृत्ति भएको भन्दै एक मुखले देशभक्तिको कुरा गर्ने गरेको र अर्कोतिर राष्ट्रघाती काम गर्ने गरेको आरोप लगाए । ‘प्रचण्डले एकातिर न्याय र सुशासनको कुरा गर्ने । अर्कोतिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने । माधव नेपालहरु संघीयता विरोधी, अलोकतान्त्रिक, अराजक काम गर्ने, समानान्तर कमिटी बनाउने र फ्लोर क्रस गराउने सम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरुलाई लगाउने छ,’ बैठकमा ओलीले भने ।

केपी ओलीलाई घोक्राउँछु, धुलो चटाउँछु, भित्तामा टास्छौं भन्दै हिँड्ने दाहाल र नेपाललाई नै जनताले धुलो चटाउने उनको दाबी छ । नेता नेपालले आफ्नो पार्टीको सरकार ढालेर अरुको सरकार बनाउन सासदहरुलाइ फाँसी चडाएको भन्दै ओलीले त्यो अपराध भएको बताए ।

एमाले

कान्तिपुर

Link copied successfully