भारतबाट फर्कनेमा संक्रमित पनि

गौरीफन्टा नाकामा गरिएको परीक्षणमा दुई दिनमा १४ जनामा कोरोना पुष्टि

चैत्र १२, २०७७

अर्जुन शाह, भवानी भट्ट

कैलाली, कञ्‍चनपुर — भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् ।

स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिरै लागेका थिए । अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परेका छन् ।’ उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनै लक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । ‘बुधबार १ सय २८ जनाको परीक्षण गरेका थियौं,’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’

यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी ३४ नम्बर गणका एसपी दीपेन्द्र कुँवरले बुधबार यो संख्या एक हजार नाघेको दाबी गरे । अहिले भारतको दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत मुख्य सहरमा संक्रमण फेरि व्यापक फैलिएको छ । ती सहरहरूमा धेरैको संख्यामा नेपालीहरू कार्यरत छन् । धेरै संक्रमित थपिन थालेपछि अत्यधिक त्रास फैलिएकाले आफू घर फर्किएको गौरीफन्टा नाकामा भेटिएका बझाङका दिलबहादुर रोकायाले बताए । ‘गुजरातबाट आएको हुँ, पोहोरकै जस्तो कोरोना फैलिन थालेपछि घर फर्किएका हौं,’ रोकायाले भने, ‘गाउँका अरू पनि फर्कने तयारीमा छन् ।’

जोखिम बढेसँगै संक्रमितलाई राख्न क्वारेन्टाइन र आइसोलेसन राख्ने तयारी गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । संक्रमितको उपचारका लागि धनगढीमा ५० शय्याको अस्पताल निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख धामीले जानकारी दिए ।

यसैबीच, कैलाली प्रशासनले संक्रमणको जोखिमलाई ख्याल गर्दै भीडभाड नगर्न बुधबार सबैलाई आग्रह गरेको छ । प्रशासनले भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउन रोक लगाएको छ । आदेशको अबज्ञा गरे कारबाही हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

महेन्द्रनगरको बसपार्क क्षेत्रमा होटल व्यवसाय गर्ने एक जनामा बुधबार एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखियो । उनको होटेलमा भारतबाट घर फर्किनेहरू बस्दै आएका छन् । उनीहरूबाटै संक्रमण भएको अनुमान गरिएको छ । गड्डाचौकी नाकामा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट घर फर्किँदै    तस्बिर : भवानी भट्ट/कान्तिपुर

कञ्चनपुरको गड्डाचौकी नाकामा यसअघि पनि भारतबाट घर फर्किने ४ जनामा संक्रमण देखिएको छ । उनीहरूलाई होम आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘जोखिम बढी भएका स्थानबाट आएकाको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘खास गरी महाराष्ट्र, गुजरात, दिल्ली र पन्जाबबाट आउने तथा शंकास्पद व्यक्तिको परीक्षण भइरहेको छ ।’ उनले गड्डाचौकी नाकाबाट फर्किने सबैको स्वास्थ्य परीक्षण भइरहेको बताए ।

कञ्चनपुरमा हालसम्म १६ हजार ४४२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७११ जनामा संक्रमण देखिएको छ । यसैगरी १ हजार ८० जनामा एन्टिजिन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको छ, जसमध्ये ५ जनाको गड्डाचौकी नाकामा परीक्षण गरिएको हो ।

कञ्चनपुरका गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिक १ हजार हाराहारीमा भारतबाट घर फर्किरहेका छन् । सीमावर्ती बजारतर्फ जानेको संख्या पनि बढी नै छ । नाकामा आवागमन केही सहज भएपछि सीमावर्ती बजारसम्म किनमेलका लागि जानेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट मंगलबार रातिदेखि भारतबाट फर्किनका लागि बिहान ६ देखि साँझ ८ बजेसम्मको समय निर्धारण गरेको छ ।

‘भारतमा संक्रमण दर वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गरी केही कडाइ गर्न खोजिएको हो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने, ‘संक्रमण बढी भएका क्षेत्रबाट आएका र लक्षण देखिएकाको एन्टिजिन परीक्षण भइरहेको छ ।’ कोभिड १९ संकट व्यवस्थापन समितिले पनि सभासमारोह तथा भीडभाड हुने कार्यक्रम नगर्न निर्देशन दिएको छ । ‘सर्वसाधारणलाई राति १० देखि ४ बजेसम्म हिँडडुल गर्न रोक लगाएका छौं,’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘होली पर्व तथा पूर्णागिरि मेलामा समेत भीडभाड नगर्न सचेत गराएका छौं ।’

कोरोना खोपकोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully