एमालेमा गुटगत अस्तित्व किमार्थ स्वीकार्य हुँदैन : ओली

संसदीय दलको विधान संशोधन, केन्द्रीय कमिटीबाट शनिबार नै पास गर्ने तयारी

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताएका छन् । संसदीय दलको बैठकमा उनले कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताएका हुन् । 

एमालेमा गुटगत अस्तित्व किमार्थ स्वीकार्य हुँदैन : ओली

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको संसदीय दलको बैठकमा ओलीले सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न छुट हुने तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट नहुने बताएका हुन् । माधवकुमार नेपाल समूहका ३८ सांसदको हस्ताक्षरसहितको मागपत्र बुझ्दै ओलीका कुरा उल्लेख गर्दै एमालेका मुख्य सचेतक विशाल भट्टराईले भने, 'प्रधानमन्त्रीले संस्थागत रूपमा नेकपा (एमाले)को संसदीय दलबाहेक अर्को कुनै अस्तित्व छैन, त्यो किमार्थ स्वीकार्य हुँदैन भन्नुभयो । व्यक्तिगत रूपमा कोही आउनुभएको छ भने त्यो कुरा सुनिन्छ, गुटगत रूपमा कोही आउँछ भने त्यो स्वीकार्य हुँदैन भनेर प्रस्टसँग भन्नुभयो ।'

खनाल-नेपाल समूहका ३८ सांसदको हस्ताक्षर बोकेर सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार गएका थिए । उनीहरूको पत्र ओलीले बुझेका थिए ।

ओलीले सबैलाई एकताबद्ध बनाएर एमाले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिएको सांसद विद्या भट्टराईले बताइन् । वामदेव गौतमले पार्टी एकता प्रक्रियामा आगामी दिनमा पनि लाग्ने बताएका थिए । 'गौतमले म अहिले पनि स्वतन्त्र छु, आफ्ना कुरा राख्छु भन्ने धारणा राख्नुभयो । पार्टी एकता प्रक्रियामा निरन्तर अगाडि बख्छु भन्नुभएको छ ।'

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गई बहस गरेका सांसद कृष्णभक्त पोखरेल पनि बालुवाटारको संसदीय दलको बैठकमा गएका थिए । उनले एमाले भइसकेपछि अलग्गै बस्नुको अर्थ नहुने बताए । उनले भने, 'नेपाल समूहले दलको बैठकमै नजाने भन्नुभयो । मलाई त्यो कुरा चित्त बुझेन । मचाहिँ नेकपा एमालेमा अलग ढंगबाट गुट बनाएर जान हुँदैन भन्ने मान्यता राख्छु । संसद् विघटन गरेको गैरसंवैधानिक भनेर लडेँ ।'

कोही संसदीय दलको बैठकमा अनुपस्थित हुँदैमा कानुनी रूपमा कारबाही गर्न नमिल्ने पोखरेलको भनाइ थियो । दलको बैठकमा नआउने सांसदलाई कारबाही गर्ने चेतावनी ओलीले दिइरहेका बेला पोखरेलले भने, 'दलको बैठकमा नआउँदैमा कारबाही भन्ने हुँदैन ।'

दलको विधान संशोधन

नेकपा (एमाले) संसदीय दलको विधान संशोधन गरिएको छ । मुख्य सचेतक भट्टराई संयोजक तथा शेरबहादुर तामाङ र विमला राई पौड्याल सदस्य रहेको समितिले संशोधित विधानको मस्यौदा दलको बैठकमा पेस गरेका थिए । उक्त विधान शनिबार नै बस्ने केन्द्रीय कमिटीले पास गर्ने तयारी भइरहेको छ ।

दलको विधानमा समूहगत माग राख्न नपाउने र त्यसरी माग राखेमा कारबाही गर्ने व्यवस्था राखिएको तामाङले जानकारी दिए । त्यस्तै संसदीय बोर्डमा रहने सदस्यको संख्या बढाइएको उनले बताए । पार्टीभित्र गुटगत राजनीति गर्नेहरूलाई बोर्डले स्पष्टीकरण सोध्ने व्यवस्था राखिएको छ ।

त्यस्तै, यसअघि संसदीय दलको नेता राष्ट्रिय सभाबाट पनि निर्वाचित हुन पाउने व्यवस्था रहेकोमा अब संसदीय दलको नेता प्रतिनिधिसभाबाट मात्रै निर्वाचित हुने व्यवस्था गरिएको तामाङले जानकारी दिए ।

दलको उपनेता संसदीय दलको बैठकले निर्वाचित गर्ने व्यवस्था पनि परिमार्जन गरेर दलको नेताले दलको उपनेता तोक्ने व्यवस्था राखिएको छ । विधान केन्द्रीय कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको भन्दै खनाल र नेपाल समूहले बहिष्कार गरेको थियो । यो समूहले केन्द्रीय कमिटी बैठक पनि बहिष्कार गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?