राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा गर्न खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक

चैत्र ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा गर्न नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापनअघि स्थायी कमिटी बैठक बसेको हो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेलाको समीक्षा र त्यहाँ आएका सुझावका आधारमा आगामी कार्ययोजनाबारे छलफल गर्न बैठक बसेको हो ।

बुधबारदेखि ललितपुरमा सुरु एमालेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस गरेका थिए । 

यस्तै बिहीबार बिहानमात्रै यो समूहको सांसदहरुको पनि बैठक बसेको थियो । 

यसैबीच बिहीबार दिउँसो  बालुवाटारमा सम्पन्न नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए । 

संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको हो । 

एमाले

कान्तिपुर

Link copied successfully