काठमाडौँ — नेकपा एमाले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । शनिबार बिहान साढे १० बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।
बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका छन् ।
बालुवाटारमा बैठक आयोजना गरिएको भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले भने संसदीय दलको बैठक बहिष्कार गरेको छ । बालुवाटारमा संसदीय दल र केन्द्रीय बैठक बोलाइएकै बेला खनाल-नेपाल पक्षले भने राष्ट्रिय सभा गृहमा युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।
संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका भनिएका अरु सांसदहरूको पनि उपस्थिति रहेको र उपाध्यक्ष गौतम पनि आएको राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल पार्वतीले जानकारी दिइन् ।
यसअघि नेपाल पक्षको राष्ट्रिय बैठक चलिरहेका बेला चैत ५ गते पनि संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका थिए । उक्त बैठकमा गौतम अनुपस्थित थिए भने नेपाल समूहले बहिष्कार गरेको थियो ।
