२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फागुन २८ का निर्णय सच्याउनुस् : नेपाल, ओलीले भने- सच्याउन सकिँदैन

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते शुक्रबार केन्द्रीय कमिटीबाट भएका निर्णय नसच्याउने अडान लिएका छन् ।

फागुन २८ का निर्णय सच्याउनुस् : नेपाल, ओलीले भने- सच्याउन सकिँदैन

सोमबार एमाले मुख्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीचको वार्तामा ओलीले फागुन २८ गतेका निर्णय सच्याउन तयार नभएपछि वार्ता सकारात्मक हुन नसकेको नेताहरुले बताए ।

‘तपाईंले एकपक्षीय रुपमा गरेका निर्णयलाई कसरी पार्टीको निर्णय भन्न सकिन्छ ? गुटका निर्णयलाई कसरी पार्टी निर्णय मान्न सकिन्छ ? हामी मान्न सक्दैनौं भनेर नेपाल कमरेडले भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भने, ‘तर, ओली कमरेडले त्यो पार्टीकै निर्णय हो । बरु तपाईंले गर्नुभएको छ नि के-के त्यो गुट हो । त्यो सच्याउने कुरा हुँदैन । त्यसलाई मानेर जाऔं भन्नुभयो । त्यसले वार्ता सकारात्मक भएन ।’

छलफलमा ओली र नेपालबीच भनाभन भएको थियो । ‘छलफलमा अध्यक्ष कमरेड र नेपाल कमरेडबीच पुराना कुरालाई लिएर ठाकठुक जस्तै भयो । त्यसपछि अरु साथीहरुले पुराना कुराहरुलाई बिर्सेर नयाँ विषयमा प्रवेश गरौं भनेर सहजीकरण गर्‍यौँ । छलफल केही बेर राम्रै चलेको पनि थियो । तर, अध्यक्ष कमरेडलले फागुन २८ को निर्णय सच्याउन तयार छैन भनेपछि वातावरण धमिलो भयो,’ उनले भने ।

उनका अनुसार ओलीसँगको छलफलपछि नेपालपक्षका नेताहरुबीच केही समय छुट्टै छलफलसमेत भएको थियो । ‘उहाँहरुसँगको छलफल सकिएपछि केहीबेर हामी छुट्टै बसेका थियौं । हाम्रो निष्कर्ष भनेको प्रधानमन्त्रीको अडानले एकताको वातावरण अगाडि बढेन । एकताबद्ध गर्ने प्रयत्न भन्दा पनि औपचारिकता जस्तै भयो,’ ती नेताले भने ।

आजको वार्ता सकारात्मक नभएपछि मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेपाल पक्ष सहभागी हुने सम्भावना कम रहेको ती नेताले बताए ।

परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पनि सोमबारको बैठक सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेको स्वीकार गरेका छन् । आफूहरुले २८ गतेको बैठकको निर्णयअनुसार अघि बढ्नुपर्ने तर त्यसमा केही सुधार वा पुनरावलोकन गर्न सकिने विषयमा दुई पक्षबीच छलफल भएको बताए । 'उहाँहरुले २८ गतेको बैठकमा हामी उपस्थित भएनौँ, त्यसको अपनत्व स्वीकार गर्न सक्दैनौं भन्नुभयो । हामीले त्यसमा पुनरावलोकन र थपघट गनुपर्ने कुरा भए आगामी दिनमा गर्न सकिन्छ भन्यौँ,' ज्ञवालीले भने ।

त्यस्तै नेपाल समूहले चैत ४ र ५ गतेलाई डाकेको राष्ट्रिय कार्यकर्ता भेला फिर्ता गर्न अनुरोध गरिएको ज्ञवालीले बताए । 'उहाँहरुले ४ र ५ गते भेला गर्ने भन्नु भएको छ । त्यस्तो भेलाले पार्टी एकतालाई बल पुऱ्याउँदैन । त्यसले थप दूरी बढाउने काम मात्रै गर्छ । ती भेलाहरु नगरौँ बरु आपसी परामर्शबाट केन्द्रीय कमिटीको बैठक तय गऱ्यौ भन्ने कुरा भयो । सारमा आजको छलफल सकारात्मक भएको छ निष्कर्षमा नपुगे पनि ।'

नेपाल पक्षका नेता भीम रावलले भने फागुन २८ गतेको बैठकको निर्णय सच्याए मात्रै आफूहरुले चैत ४ र ५ गतेको भेला रोक्ने बताए । एकपक्षीय रुपमा बसेको बैठकले गरेका निर्णय अवैधानिक भएको स्वीकार गर्न प्रधानमन्त्री ओली तयार नदेखिएको रावलको भनाइ थियो ।

प्रकाशित : चैत्र २, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?