२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एमालेलाई एकताबद्ध बनाएर लैजाने आजको बैठकको साझा निष्कर्ष हो : महासचिव पोखरेल

काठमाडौँ — उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार धुम्बाराहीमा शीर्ष नेताहरुबीच पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भएको बताएका छन् ।

एमालेलाई एकताबद्ध बनाएर लैजाने आजको बैठकको साझा निष्कर्ष हो : महासचिव पोखरेल

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच एमालेलाई थप सशक्त बनाउने विषयमा कुराकानी भएको महासचिव पोखरेलले दाबी गरे ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई जेठ २ गतेकै अवस्थामा पुऱ्याएको उल्लेख गर्दै पोखरेलले भने, ‘अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएको छ । आजको बैठकमा तीनै कुरामा छलफल भयो । अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ । हामी २०७५ साल जेठ २ गतेको अवस्थामा पुऱ्याएको छ ।’

पुनर्जीवन प्राप्त गरेको नेकपा एमालेलाई थप व्यवस्थित कसरी बनाउने र एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा नेताहरुबीच छलफल भएको पनि पोखरेलको भनाइ थियो । ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै नेताहरुले यस विषयमा छलफल गऱ्यौँ । अबका प्रयासहरु एमालेलाई थप सशक्त बनाउन पहल प्रयत्नहरु केन्द्रित हुन्छन् ।’

फागुन २८ गते ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकको निर्णयप्रति नेपाल समूहले आपत्ति जनाएको विषयमा भने महासचिव पोखरेलले भने, ‘२८ गते मात्रै होइनन्, यसअघि कात्तिक २३ गतेको आरोपपत्र, अर्याल होटेलमा भएका छलफललगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ । यसबीचमा अनेक बैठकहरु भएका छन्, त्यसबारेमा पनि कुरा उठेको छ । तर नेकपा एमालेलाई थप सशक्त र एकताबद्ध बनाएर लैजाने भन्ने बैठकको साझा निष्कर्ष हो ।’

विगतमा सबै पक्षबाट भएका कामको समीक्षा आगामी दिनमा हुने उल्लेख गर्दै महासचिव पोखरेलले भने, ‘विगतमा गरिएका कामहरुको समीक्षा गर्नेछौं । आजको बैठकमा नेकपा एमाललेलाई पाएको अवसरलाई कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल भयो । कतिपय समीक्षा गर्नुपर्ने कुराहरुका बारेमा पछि पनि छलफल गर्न सकिन्छ ।’

ओलीले एकलौटी रुपमा आफ्नो पक्षको बैठक राखेर निर्णय गरेपछि एमाले विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

आइतबार साँझ मात्रै नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर ओली दक्षिणपन्थी विसर्जनवादी भएको गम्भीर आरोप लगाएका थिए।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही गएका हुन् । सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्बाङसहितका नेताहरू सहभागी थिए भने नेपाल समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

प्रकाशित : चैत्र २, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?