काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतसँग छलफल गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकपछि दाहाल नेता नारायणकाजी श्रेष्ठलाई लिएर एमाले नेता नेपालको कोटेश्वरस्थित निवासमा पुगेका थिए ।
दाहालसँग छलफल भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले सामान्य कुराकानी भएको बताए ।
माओवादी अध्यक्ष दाहालको सचिवालयले पनि नेता नेपालको निवासमा नेताहरूबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको जानकारी दियो ।
सर्वोच्च अदालतको फैसलाअनुसार नेकपाको वैधानिकता ऋषि कट्टेलसँग गई एमाले र माओवादी ब्यूँतिएपछि दाहाल र नेपाल पूर्ववत् पार्टीमा फर्किएका थिए ।
गत शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल पक्षका पार्टीका पदाधिकारीको पद खारेज गरेको र जिम्मेवारी खोसेपछि दाहाल र नेपाललगायतका नेताबीच भेट भएको हो ।
