देशलाई आत्मनिर्भर र स्वाभिमान बनाउन सरकारसँग सहमति : चन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् ।

देशलाई आत्मनिर्भर र स्वाभिमान बनाउन सरकारसँग सहमति : चन्द

सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताए । ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै हैन । केही नेताहरुको कुरा हैन । यो सहमतिको पछाडि सपना लुकेको छ । देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र छ । यो भित्र दीर्घ शान्ति, स्थिरता, नेपाली जनताको अहिलेसम्म पूरा नभएको आकांक्षा, युवाहरुभित्र हुर्किएको समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा सकारात्मक सहयोग पायौं । हामी खुसी छौं,’ चन्दले भने ।

झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको उनले बताए । ‘आज एउटा सन्दर्भको दिन छ । एउटा अँध्यारो समय, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जंगलमा पाँच अग्रजले रगत दिएका थिए । उनीहरुले सहर्ष नेपाल र नेपाली जनताका लागि समर्पण गरेका थिए,’ उनले भने,’ त्यो दिनसँग आजको दिन जोडिएको छ । आजको दिन जसलाई हामीले सहिदको स्मरणको दिवस मनाउँदै आएका छौं ।’

गाउँमा बस्दा सहिद परिवारको एक आमाले आफूलाई टीका लगाइ दिँदै भनेको सन्दर्भ जोड्दै चन्दले भने, ‘हामी एउटा गाउँमा बस्दै गर्दा एउटा सहिदको आमाले टीका लगाइदिनु भयो । उहाँले भन्नु भयो, आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भएको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दु:ख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । त्यसैले तपाईंहरु हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला । हामीलाई त्यो अनुभूति भएको छ ।’

चन्दले सहिद, घाइते, बेपत्ताको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि बताए ।‘हामी जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी भयौं । हाम्रा अग्रजहरु सहभागी हुनुभयो । दु:ख नपाउने नेता छैन । मृत्युको नजिक नपुगेर फर्केको नेता पनि छैन । त्यसैले सबै सहिदलाई सम्मान गरौं । सहिदको सपना मर्न दिने छैनौं । यो प्रतिबद्धता लिएर यहाँ उभिएको छु । घाइते, बेपत्ताको चाहना पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ,’ चन्दले भने ।

सरकारसँग तीन बुँदे सहमति गरेपछि अब जेलमा रहेका आफ्ना साथीहरु छुट्टै र खुला आकाशमा मिलन हुने उनले बताए । ‘अहिले पनि धेरै साथीहरु जेलमा हुनुहुन्छ । अब धेरै साथीहरु छुट्नु हुनेछ र मुक्त आकाशमा मिलन हुने छौं । यो वातावरण बनेको छ । यसको लागि सरकार र पार्टी दुवैले जिम्मेवारी पूरा भएको छ,’ उनले भने ।

नेपाली समाज रुपान्तरण प्रक्रियामा अगाडि बढेको भन्दै चन्दले भने, ‘यो कस्तो प्रेम भयो । जुन र घामको जस्तो कहिले भेट नहुने । हाम्रो पनि त्यस्तै त्यस्तै भनेका थिए । जुन र घामको पनि भेट हुँदो रछ ।’

प्रकाशित : फाल्गुन २१, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?