प्रतिनिधिसभा विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : वरिष्ठ अधिवक्ता खरेल

फाल्गुन ५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् ।

प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न नभएकैले यसमा सुनुवाइ गर्न नहुने भन्न नमिल्ने उनको भनाइ छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए । उनका निजी वकिल र सरकारी कानुन व्यवसायीले पनि सोही कुरा इजलासलाई बताएका थिए । 

वरिष्ठ अधिवक्ता खरेलले भने, 'प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन ।'

कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुने तर संसद् विघटन राजनीतिक नभई संवैधानिक विषय हुने खरेलको भनाइ थियो । 

संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । 'संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्छ कि बन्दैन भन्ने राजनीतिक विषय हो,' उनले भने । 

नेपाल बार र सर्वोच्च बारबाट इजलासले मगाएका ५ एमिकस क्युरीमध्ये इजलासमा राय राख्ने खरेल दोस्रो हुन् । मंगलबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राय राखेका थिए । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ । 

कान्तिपुर

Link copied successfully