समुदायमा खोप फागुन २३ देखि

अतुल मिश्र

काठमाडौँ — सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ ।

समुदायमा खोप फागुन २३ देखि

त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकलाई समयमै खोप सुनिश्चित नगरेर उपेक्षा गरेको आरोप लाग्दै आएको छ ।

‘हामीले फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्ध खोप अभियान सुरु गर्ने तयारी गरेका छौं,’ स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले भने, ‘७५ वर्ष माथिकालाई अनिवार्य खोप लगाइनेछ । प्रशस्त खोप उपलब्ध भए ५५ वर्ष माथिकालाई लगाइनेछ ।’

मुलुकमा हालसम्म ५५ वर्ष माथिका व्यक्ति कोभिडबाट बढी प्रभावित देखिएका छन् । नेपालमा ७५ वर्ष माथिका नागरिकको संख्या करिब ६ लाख छ । सरकारले खोपको उपलब्धताका आधारमा फागुन २३ देखि खोप लगाउने उमेर समूह चयन गर्ने नीति लिएको छ । ‘सबैभन्दा पहिले ७५ वर्ष माथिकालाई चयन गरिन्छ, त्योभन्दा बढी खोप भए ७० वर्ष, ६५ वर्ष, ६० वर्ष र प्रशस्त खोप भए ५५ वर्ष माथिकाहरूका लागि खोप अभियान सञ्चालन गरिन्छ,’ डा. पोख्रेलले भने ।

फागुन अन्तिम सातादेखि समुदायमा सुरु गरिने खोप अभियानमा सम्भवतः अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप नै उपयोग गरिनेछ । हाल यो खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ । स्वास्थ्य अधिकारीहरूले कोभ्याक्सअन्तर्गत अक्सफोर्ड अस्ट्राजेनेका खोप तीन प्रतिशत जनसंख्याका लागि करिब–करिब २२ लाख ५६ हजार मात्रा दुई सातापछि आउने दाबी गरेका छन् । यो खोप आएपछि अभियान अझ तीव्र पारिने उनीहरूको भनाइ छ । यसबाहेक नेपाल सरकारले भारत सरकारसँग किन्ने तयारी गरेको छ ।

खोप अभियानमा व्यापक जनसंख्यालाई सहभागी गराउन कोभिसिल्डबाहेक अन्य खोपसमेत हुन सक्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले गरेका छन् । यसअन्तर्गत हाल चीनको सरकारी कम्पनी ‘सिनोफार्म’ द्वारा निर्मित र नेपालमा आकस्मिक उपयोगका लागि अनुमतिको पर्खाइमा रहेको खोपसँगै भारतको सरकारी कम्पनी भारत बायोटेकले निर्माण गरेको कोभाक्सिन खोपसमेत हुन सक्ने संकेत उनीहरूले गरेका हुन् ।

चीनले ५ लाख मात्रा खोप अनुदानका रूपमा दिने यसअघि नै घोषणा गरिसकेको छ । ‘कोभिडविरुद्धको खोप खरिद प्रक्रिया द्रुत गतिमा अगाडि बढिरहेको छ,’ डा. पोख्रेलले भने, ‘कोभाक्स सुविधाबाट समेत अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप आउँदै छ, यसले गर्दा हामीलाई यसै महिना अभियान सुरु गर्न सहज हुन्छ ।’

सरकारले कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोपको दोस्रो मात्रा ८ सातापछि दिने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयलाई कोभिसिल्ड खोपको दोस्रो मात्रा पहिलोपटक खोप लगाएको ८ देखि १२ साताभित्र लगाउन खोप समन्वय समितिले प्रस्ताव गरेको हो । यसअघि सरकारले दोस्रो मात्रा पहिलो खोप लगाएको एक महिनापछि दिने जनाउँदै आएको थियो ।

‘हामीले कोभिसिल्ड खोपको दोस्रो मात्रा न्यूनतम दुई महिनापछि दिने तयारी गरेका छौं,’ डा. पोख्रेलले भने, ‘खोपको उपलब्धताअनुसार दोस्रो मात्रा दिने समय ८ देखि १२ सातासम्म हुन सक्छ ।’ तर हालसम्म सरकारले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने समयबारे निर्णय गरिसकेको छैन ।

प्रकाशित : फाल्गुन ४, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?