राजनीतिक संकट समाधानका लागि समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार गठनको प्रस्ताव
काठमाडौँ — हिंसात्मक र गैरकानुनी गतिविधि गरेको आरोपमा २ वर्षदेखि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार वामपन्थी दलले खुला ‘रणनैतिक संयुक्त मोर्चा’ घोषणा गरेका छन् ।
चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले बिहीबार काठमाडौंमा मोर्चाको औपचारिक घोषणा गरेका हुन् । मोर्चाले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि तत्काल राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार गठनलगायतको प्रस्ताव पनि अघि सारेको छ ।
‘जनगणतन्त्र/वैज्ञानिक समाजवादको रणनैतिक उद्देश्य पूरा गर्न संक्रमणकालीन राजनीतिक अवस्थामाथि हस्तक्षेपसहित अघि बढ्नु अनिवार्य हुन्छ, न्याय, शान्ति, स्थिरता, स्वाधीनता र समृद्धि दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाबाट सम्भव छैन,’ मोर्चा घोषणापछि जारी वक्तव्यमा भनिएको छ, ‘त्यसैले संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न राजनीतिक समीक्षा सभा, वैकल्पिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र/वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक शृंखला हुँदै अघि बढ्न आवश्यक छ ।’
मोर्चामा चार पार्टीबाट केन्द्रमा समान ३–३ जना र बाँकी ३ जना पछि थप हुने गरी १५ सदस्य रहने गरी कार्यसमिति पनि घोषणा गरिएको छ । कार्यसमितिमा सीपी गजुरेल, रामसिंह श्रीश, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विक, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमालको नाम सार्वजनिक गरिएको छ ।
कार्यसमितिमा चन्द समूहबाट समावेश गरिएका सन्तोष बुढा, नवीन विक र अज मोहम्मद प्रहरीले हिंसात्मक गतिविधि गरेको आरोपमा खोजी सूचीमा राखेका व्यक्ति हुन् । बुढा चन्द समूहका सचिवालय सदस्य पनि हुन् । मोर्चालाई प्रदेशमा १५ र जिल्ला तहमा ११ सदस्यीय समिति रहने गरी विस्तार गरिने उल्लेख छ । आवश्यकताअनुसार स्थानीय तहसम्म पनि गठन गरिने भनिएको छ । मोर्चाको नेतृत्वका लागि सहमतिमा ६/६ महिना आलोपालोको व्यवस्था गरिनेछ । हरेक समितिमा अध्यक्ष र सचिव पदाधिकारीका रूपमा रहनेछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणासभामा चन्द समूहका केन्द्रीय तहका नेता पनि आउने भनिएको थियो । तर, प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना भएकाले उनीहरू मञ्चमा देखिएनन् । कार्यक्रमस्थलभित्र र बाहिर बाक्लो रूपमा प्रहरी परिचालन गरिएको थियो ।
मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा र थुनामा रहेका नेता–कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरे । चन्द समूहले उठाएका मुद्दा राजनीतिक भएकाले समाधान पनि राजनीतिक रूपबाटै समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
मोर्चाको अर्को घटक वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले मोर्चा कार्यगत एकता वा कार्यनीतिक एकता मात्रै नभएर आवश्यक परे पार्टी एकतासम्म पुग्ने जानकारी दिए । ‘हामीले बनाउने भनेको वैज्ञानिक समाजवादी व्यवस्था, जनगणतन्त्रयुक्त व्यवस्थासम्म सँगै जाने, त्यहाँसम्म जानका निम्ति पार्टी एकतासम्म हुने गरी बनाइएको हो,’ उनले भने, ‘विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्ध मान्दैनौं, संविधानसमेत कुल्चिएर कसैले प्रतिबन्ध लगाउँछ भने स्वयं त्यो प्रतिगमन हो, हामी प्रतिगमनलाई किन मान्छौं ?’ प्रतिबन्धित दलसँग मोर्चाबन्दी गरेपछि सरकारबाट दमन हुन सक्ने तर त्यसविरुद्ध पनि लड्ने उनले बताए ।
मोर्चाको घटक नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले आवश्यक परे जनयुद्धमा समेत जाने गरी चार दलबीच मोर्चाबन्दी गरिएको बताए । चुनाव वा संसद् पुनःस्थापना दुवैबाट जनताका समस्या हल नहुने उनको भनाइ थियो । प्रतिनिधिसभा विघटन केपी शर्मा ओलीका कारण मात्रै नभई संसदीय व्यवस्थाकै असफलता भएको कट्टेलले बताए । यसैबीच, मोर्चाले आफ्ना माग जनतासम्म पुर्याउन भन्दै फागुन ६ गते बुटवल, १४ गते धनगढी र फागुन १८ गते इटहरीमा आमसभाको कार्यक्रम सार्वजनिक गरेको छ ।
