पहिलो मात्रा लिएपछि गम्भीर एलर्जी देखिएकाहरुले दोस्रो मात्राको खोप लिनु हुँदैन : विज्ञ
काठमाडौँ — नेपालमा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाएकामा जटिल स्वास्थ्य समस्या नदेखिएको विज्ञहरूले बताएका छन् । केहीमा ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, टाउको दुख्नेजस्ता सामान्य समस्या देखिए पनि सुरक्षित रहेको उनीहरूको भनाइ छ ।
‘करिब १ लाख ८५ हजार जनाले लगाउँदा कुनै दुष्प्रभाव देखिएको छैन,’ खोप लगाएपछि देखिने असर अध्ययन गर्न बनेको एडभर्स इभेन्ट्स फलोइङ इम्युनाइजेसन (एईएफआई) समितिका अध्यक्ष डा. धनराज अर्यालले भने, ‘केही व्यक्तिले खोप लगाएपछि सामान्य समस्या देखिएको रिपोर्ट गरेका छन् ।’
हाल भारतमा पनि कोभिसिल्डसहित कोभ्याक्सिन खोप दिइएको छ । परिवार तथा स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार मंगलबारसम्म ६२ लाख ५९ हजार ८ सय ८ जनाले खोप लगाएका छन् । ‘भारतमा लाखौं जनसंख्यामा लगाउँदा समेत कोभिसिल्डको कडा दुष्प्रभाव देखिएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘हाम्रोमा भण्डारण क्षमता २ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिने अनुकूल अवस्थामा छ ।’
हालसम्म ७७ जिल्लाका १ लाख ८४ हजार ८ सय ५७ जनालाई खोप लगाइसकिएको छ । यो खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन पाउँछन् । कोभाक्स सुविधाअन्तर्गत नेपाल आउने थप खोप पनि कोभिसिल्ड नै हुने मन्त्रालयले जनाएको छ । अक्सफोर्ड–अस्ट्राजेनिकाको ‘एजेडडी १२२२’ खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ । द लान्सेटमा प्रकाशित अन्तरिम तथ्यांक विश्लेषणले यसको औसत प्रभावकारिता ७०.४ प्रतिशत देखिएको छ ।
खोप लिनुअघि स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य स्थितिको जानकारी दिनुपर्ने एसआईआईको कोभिसिल्डबारेको तथ्यपत्रमा उल्लेख छ । गर्भवती वा गर्भधारण गर्ने सोच भए अथवा स्तनपान गराइरहेको भए पनि खोप लगाउनुअघि स्वास्थ्यकर्मीलाई बताउनुपर्छ । पहिलो मात्रा लिएपछि गम्भीर रूपले एलर्जी देखिएकाहरूले दोस्रो मात्राको खोप लिनु हुँदैन । यो खोप लिनेलाई ०.५ मिलिलिटरको दुई मात्रा लिनुपर्छ ।
पहिलो खोप लिएको ४ देखि ६ साताको अन्तरमा दोस्रो मात्रा लिइन्छ । अन्तिम क्लिनिकल ट्रायलमा देखिएअनुसार दुई मात्रा खोप लिएपछि कोभिडबाट सुरक्षित रहन सकिन्छ । यो सुरक्षा कति दिनका लागि हो भन्ने पुष्टि हुन बाँकी छ । दोस्रो मात्रा लिएको चार सातापछि शरीरमा कोभिडविरुद्ध एन्टिबडी बन्न थाल्ने विज्ञहरूले बताएका छन् ।
