इजलासमा संविधानका मस्यौदाकारले भने : संसद् जिउँदो-जाग्दो छ श्रीमान्

'सुत्ने बेला प्रधानमन्त्रीलाई संसद् विघटन गर्नुपर्छ लाग्यो र बिहान विघटन गर्नुभयो'

माघ १६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको संविधानका मस्यौदारले संसद् जिउँदो जाग्दो अवस्थामा रहेको बताएका छन् । विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नराखिएको बताएका छन् ।

कानुन व्यवसायीसमेत रहेका निवेदक पोखरेलले भने, 'हामी निदाएको अवस्था हो । हामी १७ गते बिउँझिने थियौं । मृत्यु नै नभएको मान्छेलाई मृतक घोषणा गरिएको छ । संसद् जिउँदो-जाग्दो छ श्रीमान् । यो संविधानको मस्यौदाकारमध्ये म पनि हो । संसद् विघटनको कुरा कुरा कहीँ राखिएको छैन  ।'

नेकपा दाहाल-नेपाल पक्षका नेतासमेत रहेका पोखरेलले  प्रधानमन्त्रीलाई कुनै पनि विषयमा प्रतिनिधिसभाले अप्ठ्यारो नपारेको बताएका छन् । 'प्रतिनिधिसभा जिँउँदै छँदै निदाइरहेको बेलामा जाग्ने १२ दिन अगाडि प्रधानमन्त्रीले मृत भयो भनेर घोषणा गर्नुभयो,' पोखरेलले भने ।  प्रधानमन्त्रीले  संसद्प्रति उत्तरदायी हुने विश्वासप्रति अलिकित पनि रुची र सम्मान नदेखाएको पनि उनले बताए । 'प्रधानमन्त्रीलाई सुत्ने बेला संसद् विघटन गर्नुपर्छ लाग्यो र बिहान विघटन गर्नुभयो,' उनले भने । 

प्रधानमन्त्री ओलीले २०१७ पुस १ गतेको शब्द सापटी लिएर आफ्ना कदमलाई सही ठहर्‍याउन खोजेको पनि पोखरेलको भनाइ थियो ।  'उहाँले राष्ट्रहितका लागि भन्नुभएको छ । के हो राष्ट्रहित जनहित ? कोभिड नियन्त्रण गर्नका लागि दुई तिहाइ चाहियो ?

हामी सांसदले ११ महिनाको तलब  बुझायौं । तर  उहाँले राजेन्द्र महतोको पार्टी कसरी विभाजन गर्न सकिन्छ भनेर अध्यादेश ल्याउनुभयो,' पोखरेलले बहसका क्रममा भने । 

संसद् विघटन

कान्तिपुर

Link copied successfully