प्रधानमन्त्रीलाई अदालतले मैदानमा फर्काओस्, बाहिर गएर गोल गरिराख्‍नु भएको छ : अधिवक्ता चापागाईं

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कोरेको दायरा बाहिर गएर कदम चालेको अधिवक्ता राजु चापागाईंले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धमा मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदातलको संवैधानिक इजलासमा चापागाईंले प्रधानमन्त्रीलाई दायराभित्र ल्याउनुपर्ने बताए । 

प्रधानमन्त्रीलाई अदालतले मैदानमा फर्काओस्, बाहिर गएर गोल गरिराख्‍नु भएको छ : अधिवक्ता चापागाईं

संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा चापागाईंले भने, 'प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव ल्याउन नपाउने बेलासम्म कसैबाट असहज मानेनन् । दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने बेलासम्म मजाले इन्जोय गर्नुभयो । जब संसदप्रति उत्तरदायी हुनुपर्ने र विश्वासको जाँच हुनुपर्ने बेला भयो त्यतिबेला संसद् विघटन गर्नुभयो ।'

प्रधानमन्त्रीले संविधानको धारा १००, जसमा विश्वासको प्रस्ताव संसदमा लिनुपर्ने व्यवस्था गरिएको छ, त्यसको उपयोग नभएको उनले बताए । प्रधानमन्त्रीले संविधानको उक्त धारा उल्लंघन गरेकाले सर्वोच्चले मान्यता दिन नसकिने बताए । उनले भने, 'प्रधानमन्त्रीलाई खेल मैदानमा फर्काउँ, उहाँले खेल मैदान बाहिर गएर गोल गरिराख्‍नु भएको छ ।'

बारम्बार संवैधानिक इजलासले संसद् पुनःस्थापना गरेमा अर्को सरकार बन्ने अवस्था छ कि छैन ? भनेर गरिएको प्रश्नप्रति पनि चापागाईंले असन्तुष्टि जनाए । उनले भने, 'इजलासले वैकल्पिक सरकार बनेर आएको हो कि होइन ? भनेर सोध्ने हो । वैकल्पिक सरकार बन्छ कि बन्दैन ? भनेर इजलासले सोध्ने होइन ।'

सरकार गठन गर्ने दायित्व संसदको भएको र गठन गर्न नसकेमा वा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकेमा संसद् संविधानअनुसार विघटन हुने संवैधानिक व्यवस्था रहेको पनि चापागाईंले तर्क राखे । प्रधानमन्त्रीले दुरासाय राखेर संसद् विघटन गरेको उनको भनाइ थियो ।

प्रकाशित : माघ ९, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?