निर्धारित मितिमा निर्वाचन हुन गाह्रो : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौँ — पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् ।

निर्धारित मितिमा निर्वाचन हुन गाह्रो : पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेल

बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् । उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे ।

पोखरेलले नेकपा कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए । निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौं लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाइ छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद् विघटन अथवा संसद् पुन:स्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गरे । मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाइ छ । उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभइ सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताए । वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उनले औंल्याए । पोखरेलले संसद्लाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले विश्राम लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले संसद् विघटन संविधान विपरीत भएको बताइन् । सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनको भनाइ थियो । उनले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताइन् ।

प्रकाशित : माघ ७, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?