न्यायाधीश सिन्हाले वकिललाई भने : प्रधानमन्त्रीका अभिव्यक्तिबाट तपाईं प्रभावित हुनुहुन्न भने हामी पनि हुँदैनौं- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीश सिन्हाले वकिललाई भने : प्रधानमन्त्रीका अभिव्यक्तिबाट तपाईं प्रभावित हुनुहुन्न भने हामी पनि हुँदैनौं

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सर्वोच्चले आफ्नो पक्षमा फैसला गर्ने दाबी गर्दै आएका छन् । प्रधानमन्त्री ओलीको दाबीले सर्वोच्चको कार्यक्षेत्रभित्र प्रवेश गरेको, जनतामा भ्रम पैदा गरेको र न्यायालयलाई प्रभावित गर्न खोजेको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेको छ । 

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठन भएको ५ सदस्यीय संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन हालेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतप्रति भ्रम फैलाउने प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा अंकुश लगाउन निर्देशन जानुपर्ने इजलाससमक्ष माग गरे । 'अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दैन है भनेर जनतामा आशंका पैदा गरिराख्नुभएको छ । संविधानको उलंघन हो । संविधान कार्यान्वयन गर्ने कार्यकारी प्रमुखले त्यसरी बोल्दा संविधान र अदालतको क्षेत्राधिकारमाथि हस्तक्षेप पैदा गरिराख्नुनभएको छ,' न्यौपानेले भने ।

जवाफमा न्यायाधीश सिन्हाले भने, 'यस्ता स्टेटमेन्टले तपाईं प्रभावित हुनुहुन्छ ? तपाईं हुनुहुन्न भने हामी पनि हुन्नौं ।'

प्रधानमन्त्रीले बारम्बार यस्ता अभिव्यक्ति दोहोर्‍याएर न्यायालयमाथि प्रभाव पार्न खोजेकाले त्यस्ता अभिव्यक्ति दिनबाट रोक्नुपर्ने न्यौपानेको माग थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रथम दृष्टिमै असंवैधानिक रहेको न्यौपानेको जिकिर थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन प्रस्तावको स्वीकृति पनि संविधानसम्मत नभएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन चौथो दिनको सुनुवाइ सकिएको छ । अर्को सुनुवाइ बिहीबारका लागि तोकिएको छ ।

प्रकाशित : माघ ७, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

‘डाक्टरले बिनागल्ती कहिलेसम्म कुटाइ खानुपर्ने हो ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — ९ दिन अगाडि  बुटवलका ६२ वर्षीय बिरामी म कार्यरत त्रिवि शिक्षण अस्पतालको आईसीयू वार्डमा भर्ना हुन आए । बिरामीको हिस्ट्री राम्रो थिएन । तीन वर्ष अगाडि क्षयरोग भएको रहेछ, बाथको औषधि पनि खाइरहनु भएको रहेछ । अस्पताल ल्याउँदा उहाँको अवस्था गम्भीर थियो। 

मैले हेर्दा बिरामीमा निमोनिया कडा लक्षणहरू थिए । शरीरमा अक्सिजनको मात्रा निकै कम थियो । बिरामीलाई तुरून्तै भेन्टिलेटरमा राखेर उपचार सुरू गर्‍यौं । निमोनियाको कारण पत्ता लगाउन भनेर हामीले सिटीस्क्यानदेखि लिएर विभिन्न टेष्टहरू गरिरहेका थियौं । कोरोनाको दुईवटा रिपोर्ट भने नेगेटिभ थियो, त्यसैले ननकोभिड आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

बर्डफ्लु (एनवानएचवान)संक्रमणको फैलिने मौसम र वातावरण भएकाले हामीले बिरामीमा त्यही संक्रमणको शंका गर्‍यौं र टेकुको जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठायौं । बिरामीको अवस्था भने दिनप्रतिदिन बिग्रँदो थियो, परिवारलाई हामीले बिरामीको अवस्थाबारे जानकारी गराइरहेका थियौं ।

सुरूवाती दिनदेखि नै मैले बिरामीका आफन्तलाई ‘जुनसुकै बेला जेपनि हुन सक्छ, ज्यान पनि जान सक्छ, तैपनि हामी प्रयास गर्छौं’ भनेर परामर्श गरिरहेको थिएँ, उहाँहरूले कुरा बुझिराखे जस्तो लाग्थ्यो । सोमबार नमुना परीक्षणको रिपोर्ट आयो । जनस्वास्थ्य प्रयोगशालाले बर्डफ्लु र कोरोना दुवै परीक्षण गरेको रहेछ । उहाँलाई कोरोना पोजेटिभ छ भनेर टेकुबाट फोन आयो । आईसीयूका अन्य बिरामीलाई संक्रमण सर्ने जोखिम भएपछि हामीले उहाँलाई कोभिड आईसीयूमा सार्‍यौं । आज (मगंलबार) बिरामीको अवस्था झन्झन् बिग्रिँदै गयो । अक्सिजनले काम गरेन, ब्लडप्रेसरको औषधि चलाइरहेका थियौं तर काम गरिरहेको थिएन । मिर्गौलाले पनि विस्तारै काम गर्न छाड्दै थियो । मुटुको धड्कन पनि कम हुँदै गयो, सीपीआर गर्‍यौं तर बिरामीको मृत्यु भयो ।

११ बजेपछि आफन्तलाई बिरामीको मृत्यु घोषणा गर्‍यौं । बिरामीका आफन्तहरू रिर्पोट लिएर मलाई भेट्न आउनुभयो, झोंक्किएको मुडमा हुनुहुन्थ्यो । ‘कोरोना नभएको बिरामीलाई त्यसै कोरोना भयो भनेर कोभिड वार्डमा सार्ने, त्यहीँबाट संक्रमण सार्ने अनि बिरामी मार्ने ?’ भन्न थाल्नुभयो । मैले सम्झाउन खोजेँ तर उहाँहरूले सुन्न खोज्नु भएन । टेकुबाट ल्याएको रिपोर्ट देखाउनुभयो । रिपोर्टमा ‘एनवानएचवान पीसीआर नेगेटिभ’ लेखेको थियो । कोरोनाको रिपोर्ट ल्याउनु भएको थिएन, मसँग पो माग्न थाल्नुभयो ।

उहाँहरूले पीसीआर नेगेटिभ लेखेको देख्नुभएछ तर अगाडि लेखेको एनवानएचवान पढ्नुभएनछ । हामीले शंका गरेको बर्डफ्लु संक्रमण नेगेटिभ तर हामी ढुक्क भएर बसेको कोरोना संक्रमण पाजेटिभ रहेछ । यही कुरा बुझाउन खोज्दै थिएँ । बिरामीका छोराले आवेशमा आएर मेरो पेटमा बेस्सरी लात्ती हानेँ, आईसीयूमा राखिएका औषधि फालिदिए । मेरो टिममा काम गर्ने मेडिकल अफिसर र स्वास्थ्यकर्मीले रोक्न खोजे । हातपात अझै बढ्ला भनेर म ड्युटी रूममा गएँ ।

शरीरमा धेरै चोट लाग्न पाएन तर आत्मसम्मानमा ठेस लागेको छ । मेरो केही गल्ती नहुँदापनि बिरामी पक्षले कुटपिट गरे, चित्त दुखेको छ । बिरामी बचाउन नसक्दा कुटाइ खाने म पहिलो चिकित्सक होइन, यसअघि पनि ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकमाथि यस्तो गरिएका धेरै घटना छन् । उपचारमा चित्त नबुझे चिकित्सकमाथि हातपात गरिहाल्ने कुराले हामीलाई हतोत्साहित बनाएको छ ।

हिजो अरू स्वास्थ्यकर्मीले कुटाइ खाए, आज मैले खाएँ, भोलि अरूलाई पनि यस्तो हुन सक्छ । बिरामीपक्षलाई उपचारमा लापरबाही भएजस्तो लाग्छ भने कानुनी बाटो अपनाउन सकिन्छ, यसरी चिकित्सकमाथि कुटपिट गर्ने अभ्यास बन्द होस् । ममाथि भएको घटनाबारे मैले आफू कार्यरत संस्थामा गएर भनिसकेँ । यसको समाधान कसरी गर्ने उहाँहरूले गर्नुहोला । तर, बिरामीपक्षले आवेशमा आएर हामी चिकित्सकमाथि हातहपाई गर्ने गलत सिस्टमको अन्त्य गर्न सरकार अथवा सम्बन्धित निकायले के गरिरहेका छन् ?

मगंलबार बिरामीपक्षबाट कुटपिटमा परेका त्रिवि शिक्षण अस्पतालका डा.सबिन भण्डारीसँग फातिमा बानुले गरेको कुराकानीमा आधारित ।

प्रकाशित : माघ ७, २०७७ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×